logo
२०८३ कार्तिक १६, सोमबार |
☰
📰
🔍
✕

चाडपर्वका बेला बढ्यो सवारी दुर्घटना

१ सय २४ जनाले ज्यान गुमाए, २ हजार ९ सय ८८ घाइते

प्रभातफेरी अनलाइन३३ पटक पढिएको | २०८३ कार्तिक ११, बुधबार
चाडपर्वका बेला बढ्यो सवारी दुर्घटना

काभ्रेपलाञ्चोक/ चाडपर्वको समयमा सवारी दुर्घटना बढेको छ । अन्य समयको तुलनामा दसैंका बेला दुर्घटना बढेको हो । दसैंको अवधिमा देशभर भएका १ हजार ३ सय ३९ वटा सवारी दुर्घटनामा परी १सय२४ जनाको मृत्यु भएको छ भने २ हजार ९८८ जना घाइते भएका छन् । तीव्र गति, मादक पदार्थ सेवन, लागूपदार्थ सेवन र ओभरटेक जस्ता कारणले हुने सवारी दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरीले चाडपर्व केन्द्रित सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाएको जनाएको छ ।
यस वर्ष असोज २५ देखि कात्तिक ८ गतेसम्मको दसैं अवधिमा भएका दुर्घटनामा मृत्यु हुनेमा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिका छन् । घाइतेमध्ये ४सय३७ जनाको अवस्था गम्भीर छ भने २ हजार ५सय५१ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरीले चाडपर्वका बेला सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने र आवागमनसमेत बाक्लिने भएकाले दुर्घटना रोक्न विशेष सतर्कता अपनाएको जनाएको छ । यात्रुको सुरक्षा, सहज यात्रा र सुरक्षित गन्तव्य सुनिश्चित गर्न यात्रु सहायता कक्ष सञ्चालनदेखि सवारीसाधनको प्राविधिक परीक्षणसम्मका कामलाई प्राथमिकता दिइएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार लामो दूरीका सार्वजनिक सवारीसाधन छुट्ने स्थानमै चालकको अनुमतिपत्र, मादक तथा लागूपदार्थ सेवन, सिट क्षमताअनुसार यात्रु राखे–नराखेको र सवारीसाधनको यान्त्रिक अवस्थाबारे जाँच गर्ने व्यवस्था मिलाइएको थियो । लामो दूरीका सवारीसाधनमा दुई जना चालक भए–नभएको परीक्षण गर्न ट्राफिक कम्युनिकेसन एप्लिकेसन (टीसीए) समेत प्रयोग गरिएको उनले बताए ।

कोशीमा सबैभन्दा बढी, मधेशमा सबैभन्दा कम दुर्घटना

नेपाल प्रहरीका अनुसार दसैं अवधिमा सबैभन्दा बढी सवारी दुर्घटना कोशी प्रदेशमा भएका छन् । कोशीमा ३सय९७ वटा दुर्घटना हुँदा मधेश प्रदेशमा सबैभन्दा कम ८० वटा दुर्घटना भएका छन् । प्रदेशगत विवरणअनुसार काठमाडौं उपत्यकामा १सय७१, बागमती प्रदेशमा १सय १२, गण्डकीमा ९७, लुम्बिनीमा १सय६१, कर्णालीमा १सय७१ र सुदूरपश्चिम प्रदेशमा १ सय ५० वटा सवारी दुर्घटना भएका छन् ।
दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न देखिएका छन् । प्रहरीको विवरणअनुसार दुर्घटनामा १ हजार ५सय५२ मोटरसाइकल, ३सय३७ जिप तथा कार, २सय७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर, ६४ माइक्रोबस, ५४ बस, ३८ ट्र्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १सय३३ अन्य सवारीसाधन संलग्न भएका छन् ।
यसरी दुर्घटनामा संलग्न सवारीसाधनको कुल संख्या २ हजार ४सय८१ पुगेको छ । गत वर्षको दसैं अवधिमा देशभर १ हजार ४ सय९२ वटा सवारी दुर्घटना भएका थिए । यस वर्ष दुर्घटनाको संख्या गत वर्षको तुलनामा कम देखिए पनि मानवीय क्षति र घाइतेको अवस्थाले सडक सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७ सय ३ सवारीसाधन कारबाहीमा

दसैं अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७सय३ सवारीसाधनलाई कारबाही गरिएको नेपाल प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २ हजार ७सय९४, सिट क्षमताभन्दा बढी यात्रु राख्ने १ हजार ८सय८२ र तीव्र गतिमा सवारी चलाउने ७सय४६ सवारीसाधन छन् । त्यसैगरी, यान्त्रिक परीक्षणसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८ र लागूपदार्थ सेवन गरी सवारी चलाउने ५३ सवारीसाधन कारबाहीमा परेका छन् । टीसीएसम्बन्धी नियम उल्लङ्घन गर्ने नौ सवारीसाधनलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव महानिरीक्षक काफ्लेले प्रहरीको उद्देश्य कारबाहीमा सीमित नभई यात्रु तथा चालकको सुरक्षा सुनिश्चित गर्नु रहेको बताए । सम्भावित दुर्घटनास्थल पहिचान गरी नियमित तथा आकस्मिक जाँच गर्ने र सडक प्रयोगलाई सुरक्षित तथा व्यवस्थित बनाउने काम भइरहेको उनको भनाइ छ । ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाएको देखेमा नजिकको प्रहरी कार्यालय वा प्रहरीका १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा जानकारी गराउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

चाडपर्व लक्षित सुरक्षा योजना थप प्रभावकारी बनाइँदै

दुर्घटना न्यूनीकरण तथा यात्रुलाई आवश्यक सूचना र सहायता उपलब्ध गराउन दसैं अवधिमा देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको थियो । त्यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क सञ्चालन गरी यात्रुलाई आवश्यक सहयोग प्रदान गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै प्रविधिको प्रयोगबाट सडक सुरक्षालाई प्रभावकारी बनाउने प्रयास गर्दै आएको छ । दसैं सकिएसँगै नजिकिँदै गरेका दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गरी प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना कार्यान्वयन गरिरहेको जनाएको छ । चाडपर्वका बेला बढ्ने सवारी चाप, लामो दूरीको यात्रा र ट्राफिक नियम उल्लङ्घनबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै जाँच तथा निगरानीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।