प्रभातफेरी अनलाइन० पाठक संख्या | मंसिर १२, २०८३ | शनिबार
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीका उम्मेदवार निर्वाचित नभए पनि कर्णालीको विकास सरकारको प्राथमिकतामा रहने बताएका छन्।
सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कर्णालीमा पार्टीको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको स्वीकार गरेका हुन्।
उनले विकासलाई निर्वाचनको परिणामसँग जोड्न नहुने बताउँदै उम्मेदवार जिताए मात्रै विकास गर्ने वा पुल र सडक बनाइदिने आश्वासन दिएर मत माग्ने राजनीति आफ्नो पार्टीले नगर्ने स्पष्ट पारे।
‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं । हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं, हाम्रा मान्छेलाई जितायौ भने पुल बन्छ, बाटो बन्छ भनेर कर्णालीसँग कुनै सौदाबाजी गर्न आएका होइनौं,’ उनले भने।
उनले कर्णालीमा पार्टीको आवाज दूरदराजसम्म पुर्याउन नसकेको र अन्य प्रदेशको तुलनामा संसदीय प्रतिनिधित्व कमजोर रहेको स्वीकार गर्दै कर्णालीको विकास र जनताको आवश्यकता निर्वाचनभन्दा माथि रहने बताए।