धुलिखेल/नेपाल प्रहरीको ६५औं प्रहरी दिवसलाई शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रांगणमा सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले प्रविधिको दुरुपयोग गरेर अपराध बढिरहेको बताएका थिए ।
पछिल्लो समय अनपेक्षित रुपमा अपराधमा संलग्नहरुले प्रविधिको दुरुपयोग गरेर अपराधका श्रृंखलाहरु नविनत्तम रुपमा आइरहेको छन् । यस परिस्थितिमा प्रहरी संगठन समय सापेक्षित ढंगबाट चुस्त, दुरुस्त हुनु आजको आवश्यकता रहेको छ । जसरी अपराधीहरु अपराध गर्नका लागि प्रविधिका दुरुपयोग गरिरहेका छन्, त्यसका विरुद्ध प्रहरी संगठन सशक्त रुपमा प्रतिकारमा उत्रिनुका लागि आफूलाई समय सापेक्षित ढंगबाट परिमार्जन गर्नुको विकल्प छैन । प्रहरी संगठनलाई व्यवस्थापन गर्नका लागि आएको ऐनले पनि आज ६५औं वर्ष प्रवेश गरिरहँदा यात्रामा कहिँ केही सुस्तता हुनसक्छ ! जतिबेला ऐन आएको थियो, त्यो समयभन्दा आज संगठनको दायरा सयौं गुणा फराकिलो भएको छ । यति ठूलो संगठनभित्र अपवाद रुपमा केही कमी कमजोरी भए होलान् । त्यसैलाई निहुँ बनाएर सिंगो प्रहरी संगठनलाई नहेरिदिन पनि कार्यक्रमका प्रमुख अतिथि पोखरेलको आग्रह थियो ।
६५ औं प्रहरी दिवस–२०७७ को अवसरमा अमर प्रहरी स्मारकमा सलामी अर्पण सहित पुष्प गुच्छाले सम्मान गरिएपश्चात् प्रहरी उपरीक्षक रवि पौडेलद्वारा प्रहरी प्रधान कार्यालयको निर्देशनभित्र रहेर सामाजिक दूरी कायम गर्दै कार्यक्रमलाई सञ्चालन गर्ने जमर्काे गरेका छौं । यो पावन अवसरमा प्रहरी ऐन सार्वजनिक भएको दिनलाई प्रहरी दिवसको रुपमा मनाउँदै आएका छौं । यो दिन नेपाल प्रहरीमा सेवा गर्नेहरुको लागि गौरवको दिन हो । त्यसैले उपस्थित सम्पूर्ण जनहरुमा शब्दद्वारा सम्मान व्यक्त गर्दै स्वागत गर्न चाहन्छु भन्नुहुँदै प्रहरी प्रधान कार्यालय नक्सालबाट प्राप्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६५औं प्रहरी दिवस २०७७ को अवसरमा दिनुभएको सन्देश वाचन गर्नुभएको थियो ।
सन्देशमा भनिएको छ– ६५ औं प्रहरी दिवस २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपाल प्रहरीका सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूलाई व्यावसायिक सफलता, पारिवारिक सुख एवं सुखद् भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सन्देश वाचन गर्र्दै सेवा निवृत्त अग्रज, अन्य प्रहरी कर्मचारीहरू, प्रहरी परिवार, अमर तथा शहीद प्रहरीका परिवारजनमा समेत हार्दिक शुभकामना व्यक्त गरेको सन्देश प्रवाह प्र.उ. पौडेलले वाचन गर्नुभएको थियो ।
यस विशिष्ट क्षणमा मातृभूमिका सेवाका खातिर प्राण उत्सर्ग गर्ने वीर तथा अमर प्रहरीको बलिदानको उच्च सम्मान गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यसैगरी कर्तव्यपालनाको सिलसिलामा शारीरिक एवं मानसिक क्षति बेहोर्नु भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै, कोभिड–१९ महामारीको संक्रमण रोकथामका लागि अग्रपंक्तिमा खटिंदा सङ्क्रमित हुनु भएका प्रहरी कर्मचारीहरूको स्वास्थ्य लाभको कामना समेत गर्दछु भन्दै नेपाल प्रहरीको गौरवमय इतिहास र सुनौलो भविष्य रहेको छ । चुनौतीसँग जुध्ने र अन्याय वा अपराधलाई निर्मूल पार्ने सामर्थ्य हामीमा छ । विगतका त्यही सौर्य गाथाले भरिपूर्ण संगठन, व्यावसायिक निष्ठावान् सदस्यहरूको समर्पण भावले नेपाल प्रहरीको गरिमा चुलिएको छ । उक्त गरिमालाई जोगाई राख्न हरेक प्रहरी कर्मचारीले निःस्वार्थ योगदान दिनु हुनेछ यही नै प्रहरी दिवसको उचित सन्देश हो भन्ने मलाई लागेको छ ।
कानूनको निष्पक्ष कार्यान्वयन सम्झौताविहीन विषय हो, जसले न्याय र सुरक्षाको प्रत्याभूत गर्दछ । त्यसै गरी गैर व्यावसायिक आचरण व्यवहार र कुनै पनि अपारदर्शी गतिविधि सह्य हुनै नसक्ने पक्ष हुन, यी पक्षहरूको अभावमा मात्र हाम्रा सेवाहरू जनमुखी, पारदर्शी र स्वच्छ हुनेछन् । सोही जगमा प्रहरीले जन विश्वास आर्जन गर्न सक्ने हुँदा यसतर्फ संवेदनशील रहन महानिरीक्षक थापा क्षेत्रीले सकल दर्जाका प्रहरी कर्मचारीलाई निर्देश समेत उल्लेख प्र.उ. पौडेलले गर्नुभएको थियो ।
अन्तमा प्र.उ. पौडेलले महानिरीक्षक थापा क्षेत्रीले परिवर्तनहरूलाई आत्मसात् गर्दै रूपान्तरणका लागि तपाइहरू तत्पर रहनु हुनेछ भन्ने विश्वास व्यक्त गर्दै पुनःएक पटक संगठनका सम्पूर्ण सदस्यहरूलाई प्रहरी दिवस २०७७ को अवसरमा बधाई सहित आआफ्नो कार्य क्षेत्रमा मन, वचन र कर्मले समर्पित रहन थप प्रेरणा मिलोस् भन्दै शब्दद्वारा प्रहरी उपरीक्षक पौडेलमार्फत् शुभकामना दिनुभएको उल्लेख गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको ६५औं प्रहरी दिवसलाई सम्बोधन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रांगणमा शुक्रबार पुग्नुभएका नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले नयाँ महानिरीक्षकको आगमनसँगै पुराना महत्वाकांक्षी योजनाहरु ओझेलमा पर्दै गएको बताउनुभएको थियो ।
जब महानिरीक्षकहरुको पदोन्नती हुन्छ, आफू चर्चामा आउने किसिमका योजनाहरु लिएर आउनुहुन्छ । ति योजनाहरु पूर्ण रुपले कार्यान्वयन हुन नपाउँदै उहाँहरुको अवधि सकिन्छ । यसका कारण कति राम्रा कुराहरु ओझेलमा परेका छन् । कोभिड–१९ ले काभ्रे जिल्लालाई जुन अवस्थामा पु¥याएको छ, त्यस परिस्थितिलाई मलमपट्टि लगाउने काम सुरक्षाकर्मीहरुले गरिरहेको बारे चर्चा गर्दै अध्यक्ष तिमल्सिनाले यो आत्मीय कामप्रति सञ्चारकर्मीको सम्मान छ भन्नुभएको थियो । यो अवस्थामा प्रहरी संगठनले खेलेको भूमिका अनुकरणीय छ । नागरिकले कानून के हो ? त्यसको अनुभूति प्रहरी संगठनमा मात्र देख्नसक्ने अवस्था हुने महसुस गरेका छन् । त्यसैले प्रहरी संगठनले यो साथ गुमाउने छैन भन्ने विश्वास सञ्चारकर्मीको रहेको व्यक्त गरेका थिए ।
अहिले तड्कारो समस्याको रुपमा बजारको अस्तव्यस्तता छ । दशैंलाई साधन बनाएर कालाबजारियाहरु कमाउधन्दामा लागेका छन् । महंगी र गुणस्तरहिन सामानले बजारमा प्राथमिक पाइराखेको छ । यो अवस्थामा अनुगमन, अति आवश्यक देखिएको छ । त्यसतर्फ राज्यको ध्यान पुगोस्, सुरक्षाकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नतर्फ आफूलाई केन्द्रिकृत गरुन् भन्ने नै हो । जुन किसिमका संस्कारहरु हाबी भएका छन्, त्यसले मानव अस्तित्वलाई समाप्त नपार्ला भन्न सकिन्नँ । त्यसतर्फ सचेत हुँदै परम्परा, संस्कृति, संस्कारको पालना गर्नु मानवको दायित्व हो । त्यसमा सुरक्षाकर्मीको पनि महत्वपूर्ण भूमिका रहन्छ भन्दै अध्यक्ष तिमल्सिनाको थप कथन थियो– राज्यको मापदण्डभित्र रहेर चाडवाडको महत्वलाई आत्मसात गर्नुको विकल्प नभएको बताएका थिए ।
बिहानको ८ बज्दै थियो, प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीले त्यहाँ साबुनपानीले हात धोएर मात्र जानुस् है भन्यो, हस् भनें । साबुनपानीले हात धोएर अगाडि बढ्दै थिएँ, एकाएक ओहो ! दाइ एक वर्षपछि भेट भो त, स्वास्थ्य के छ ? जवाफ राम्रो छ बहिनी भन्दा नभन्दै सजिएको मञ्चतर्फ संकेत भयो, तेस्रो रोहमा गएर बसें ।
केहीबेर पश्चात् आमन्त्रितहरुको आगमन बढ्दै गयो । झण्डै ९ बजिसकेको हुनुपर्छ । प्रहरी उपरीक्षक रविकुमार पौडेल स्वयं अतिथि सत्कारमा जुटिरहनुभएको थियो । त्यतिकैमा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको आगमन भयो । सोझै गारद सलामीतर्फ प्रवेश पश्चात् अमर प्रहरी स्मारकमा पुष्पहार (रेथ चढाउने) पुष्प गुच्छा अर्पण, शोक सलामी अर्पण गरियो ।
तत्पश्चात् राष्ट्रिय गानसहित कार्यक्रमलाई औपचारिक तर्फ अगाडि बढाइयो । सम्बोधनकै क्रममा केही सम्बोधन पश्चात् समाजमा प्रहरी सेवा लगायतका भूमिकामा महत्वपूर्ण योगदान पु¥याउने, जसले अतुलनीय भूमिका निर्वाह गर्न पुगेका व्यक्ति, व्यक्तित्व, संघसंस्थाका साथै अमर प्रहरी कर्मचारीका परिवारलाई सम्मान र उत्कृष्ट कार्य सम्पादन प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रमले निरन्तरता लियो । सम्मान बढ्दै जाँदा दर्शकदिर्गामा विशेष गरी सञ्चारकर्मी बिचमा गाईंगुईं सुरु भयो । यो पंक्तिकार झनै प्रहरीको औपचारिक निम्तोबिना त्यहाँ प्रवेश गरेको थियो । त्यसले गुद्दी कुरो थाहा पाउने कुरै रहने । गाईंगुईं चल्दै गर्दा सम्मानित व्यक्तिहरु सम्मान लिँदै अगाडि बढिरहेका थिए । जसमा सम्मान प्राप्त गर्ने व्यक्तिहरु जसले प्रहरी सेवामा अनुकरणीय योगदान पु¥याए । प्र.नि. सुरेश खत्री, प्र.ना.नी. चन्द्रकुमार फाजू श्रेष्ठ र सिता श्रेष्ठ, प्र.स.नि. रामकुमार बुढाथोकी, प्रहरी हवल्दार दिपेश श्रेष्ठ, पुस्कल खड्का, प्रहरी जवान रामहरि भण्डारी, कमल भट्टराई, सहयोगी नारायण विक्रम कुँवरले सम्मान ग्रहणपश्चात् संघसंस्थातर्फ धुलिखेल नगरपालिका, रोशी गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय, नेपाल पत्रकार महासंघ काभ्रे शाखा र व्यक्तिगत रुपमा पेन्जोङ शेर्पा, सरिता तामाङ र सुब्बा सिं तामाङ सम्मानित हुनुभएको थियो । त्यसैगरी जग्गादाताहरुमा पाँचखाल नगरपालिका, सेलमान मोक्तान महाभारत गापा ६, लालबहादुर मोक्तान महाभारत गापा ४, कुलमान तामाङ नमोबुद्ध नपा ४, गोविन्दप्रसाद पाण्डे तेमाल गापा ३, भलराज गिरी चौरीदेउराली गापा ६ सम्मानित हुनुभएको थियो ।
यता अमर प्रहरी परिवारप्रति सम्मानित हुनेहरुमा देवकुमार खरेल, हरिबहादुर शाही, ऋषि धिताल, रामचन्द्र केसी, गणेशप्रसाद मैनाली, ज्ञानुजंग थापा, सुदर्शन बस्ताकोटी, हरिसुन्दर थापा र टिकाराम त्रिपाठी रहनुभएको थियो । यसरी समाजमा अनुकरणीय योगदान गर्ने व्यक्तित्व, संघसंस्था, तह र तप्का सम्मानित भइरहँदा आलोचना पनि बढ्दै गएका थिए । सञ्चारकर्मी लगायत केही आमन्त्रित व्यक्तिहरु खासखुस गर्दै थिए । राम्रो काम गर्ने भनेको हड्कडी सहितको अभियुक्त भगाउने क्षमता राख्ने रहेछ भन्दै आलोचला गरिरहेका थिए । यस किसिमको एकपछि अर्काे आउँदै गरेका आलोचनाप्रति एकजना सञ्चारकर्मी भाइलाई हैन, के भन्न खोजेको हो ? भन्दा तपाईंलाई यो विषय थाहा छैन दाइ, तपाईं चुप लाग्दै राम्रो भन्न पुगे । हड्कडी सहितको अभियुक्त फरार हुने अवस्था सिर्जना गर्ने जिम्मेवारपूर्ण व्यक्तिलाई सम्मान गर्नुले प्रहरी संगठनको गरिमामाथि प्रश्न चिन्ह उठ्नु राम्रो होइन भन्ने ठम्याइ मेरो छ । हुन त प्रहरी संगठनको आफ्नै विधि विधान होलान् । बाहिर अनर्गल चर्चा परिचर्चाले अनेकौं खुल्दुली उब्जिनु स्वभाविक नै हो भन्ने लाग्छ ।
यदि यस किसिमको त्रुटि हुन पुगेको हो भने सम्बन्धित निकायले सुधार्न जरुरी छ । नत्र प्रहरी संगठनको साखमा प्रश्न चिन्ह नलाग्ला भन्न सकिन्नँ ।
कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीबाट आमन्त्रित अतिथि तथा शुभचिन्तक एवं सुरक्षाकर्मीप्रति धन्यवाद ज्ञापन गर्दै प्रहरी संगठनको साखमा आँच आउन नदिने प्रण गर्नुभएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |