logo
२०८३ आश्विन ४, आईतबार |
📰
🔍

ओलीले पार्टी कमिटीलाई अवमूल्यन गरेकै कारण आज यो अवस्था आएको छ ः नेता तामाङ

प्रभातफेरी अनलाइन७३८४ पटक पढिएको | २०७७ माघ २८, बुधबार
ओलीले पार्टी कमिटीलाई अवमूल्यन गरेकै कारण आज यो अवस्था आएको छ ः नेता तामाङ

काभ्रे । ओली सरकारले चालेका असंवैधानिक कदमका विरुद्ध सशक्त आन्दोलन अगाडि बढाउने नेकपा काभ्रे जिल्ला कमिटीको विस्तारित बैठकलाई आइतबार सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सह–इन्चार्ज हितबहादुर तामाङले उक्त भनाइ राख्नुभएको हो ।

ओली झुण्डले जति नै भ्रमको खेती गरेता पनि त्यतातर्फ जनमत केन्द्रित नभएको खुलासा गर्दै ओलीको सानो गुट र राजावादीहरु मात्रै प्रतिगमनको पक्षमा देखिएको नेता तामाङको तर्क थियो । संसद विघटनका विरुद्ध सिंगो मुलुक ओलीको विरुद्धमा छ । देशका सबै राजनीतिक दल प्रतिगामी कदमका विरुद्ध अहिले सडकमा छन् । यदि बचाउमा छन् भने राजावादी र ओलीको झुण्डले भ्रमको खेती गरेर प्रतिगमनको पक्ष पोषण गरिरहेको छ । त्यसैले आफ्नो गल्ती सच्याउनुको विकल्प छैन । ओलीले जुन असंवैधानिक कदम चालेर मुलुकलाई नै संकटमा पु¥याएको छ, यो संकटको अवस्थामा राष्ट्रप्रति समर्पित कर्मठ योद्धाहरु रमिते बन्न नसक्ने तामाङको जिकिर थियो ।

लामो संघर्ष र बलिदान त्यागपछि प्राप्त भएका सीमित अधिकारहरुको संरक्षण गर्नु तमाम न्यायप्रेमी जनसमुदायको पनि दायित्व भएको बताउनुभएको छ । यो उपलब्धी प्राप्त गर्नका लागि वरिष्ठ अग्रज नेताहरु झलनाथ खनाल, माधव नेपाल, पुष्पकमल दाहाल लगायतको ठूलो त्याग छ । उहाँहरुले सिंगो नेतृत्वको हैसियतलाई त्यागेर सामान्य नेताको रुपमा बस्न स्वीकार गर्नु के त्यो त्याग होइन ? गणतन्त्र र संघीयतालाई स्थायित्व हुन्छ भने के फरक पर्छ भन्ने भावले उहाँहरुले त्याग गर्नुभयो तर त्यही त्यागलाई ओलीले कमजोरीको रुपमा लिएको समेत बताउनुभएको छ । जुन संघर्ष र बलिदानबाट पार्टी एकता भयो, त्यो एकताका लागि नेताहरुले गर्नुभएको त्यागको कुनै मूल्यांकन ओलीले गरेनन् । ओलीमा मौलाएको अहम्ताले चरम रुप लिएको छ । जुन किसिमको अहम्ताले नै पार्टी कमिटीलाई अवमूल्यन गर्न पुग्यो । पार्टीको निर्णय नमान्ने, सबथोक आफैं हुँ भन्ने, सर्वेसर्वा मै हुँ भन्दै पार्टी र पार्टीको नीति पेलेर गएकै कारण पार्टीले ओलीलाई छाड्न बाध्य भएको विस्तारित बैठकमा नेता तामाङले स्मरण गराउनुभएको थियो ।

ओलीको घमण्डकै कारण आज मुलुक गम्भीर संकटको अवस्थामा पुगेको छ । विदेशी चलखेल ह्वात्तै बढेको छ, महँगी चरम उत्कर्षमा पुगेको छ । झण्डै दुई तिहाइको नजिक रहेको ओली सरकारका विरुद्ध सिंगो मुलुक विरोधमा उत्रिएको छ । यो सबैको जड भनेकै स्वयं ओली हुन् । उनको सर्वसत्तावाद र तानाशाही प्रवृत्तिकै कारण आज तमाम न्यायप्रेमी सडकमा भएको नेता तामाङको जिकिर थियो । उक्त विस्तारित बैठकलाई केन्द्रीय अनुशासन आयोगका सदस्य तथा पूर्व सांसद शिवबहादुर देउजा, बागमती प्रदेशका सचिवालय सदस्य एवं पूर्व राज्यमन्त्री सूर्यमान दोङ, प्रदेश सदस्यहरु कृष्णप्रसाद सापकोटा गंगाबहादुर तामाङ, तेजबहादुर मिजार, विदूर सापकोटा, जिल्ला अध्यक्ष रुकु चौलागाईं, प्रदेश कमिटी सदस्यहरु बसुन्धरा हुमागाईं, रत्न ढकाल, इन्द्रबहादुर थिङ, मिमबहादुर वाइबा, संविधान सभा सदस्य रेणुका चौलागाईं लगायतले आ–आफ्ना धारणाहरु राख्दै आज काठमाडौं केन्द्रित आन्दोलनलाई कसरी बढीभन्दा बढी सहभागी जुटाएर सफल बनाउन सकिन्छ भन्ने अभिव्यक्तिहरु राख्नुभएको थियो ।