प्रभातफेरी अनलाइन६८९० पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन ५, मंगलबार(४ साल अघि)
शम्भु निशब्द
हातमुख जोड्ने आगो त
प्रायःजसो सल्किरहेकै छ तीनवटा चुल्होको नाइटोमा।
दाइजो माग्ने आगो त नाचीरहेकै छ युवतिको छातीमा
बोक्सी देख्ने र मानिस हुनबाट छेक्ने आगो त
नाचिरहेकैछ गरीब हजुरआमाको चोलोमा
दलित हजुरबाको पुरानो भोटोमा।
खास सल्किनुपर्ने आगो त सल्किएकै छैन अझैसम्म
सायद सामान्य प्रक्रियाबाट सल्किदैन त्यो आगो।
त्यो आगो सल्किन्छ–शास्त्रको बाहिरी आवरणतिर
जलाउँछ अग्ला होचा ईश्वरहरूको नक्सा
क्रमशः जलाउँदै लान्छ सबैखाले विभेदको भाव बोक्ने
काम नलाग्ने स्वैरकाल्पनिक श्लोकहरू
र बाँकी छोडिदिन्छ जीवन सिकाउने दार्शनिक आदर्शहरू।
त्यो आगो सल्किन्छ–हजारौं वर्ष अगाडिदेखि
थुप्रिएको विशाल फोहोरहरूको थुप्रोमा
र बनाइदिन्छ खरानी–खरानी।
त्यो आगो सल्किन्छ
कवाडी चिन्तनको प्रयोगशालाहरूमा
र बनाइदिन्छ पिठैपिठो।
त्यो आगो कामी दाइको आरनमा
कोदालो अर्जाप्ने क्रममा फुत्किएको हुन सक्छ
माझी दाइले नदी किनारमा माछा पोल्दा
विद्रोही बतासले उडाएको हुनुपर्छ
दमिनी दिदीले या सर्किनी भाउजूले
भान्सामा झुलो चक्मक खेलाउँदा निस्किएको हुन सक्छ।
अर्थात त्यो वर्षौदेखि चोट सहेर बसेका
चट्टानहरू एक हुने क्रममा ठोक्किएर निस्केको हुनुपर्छ
या एकाइसौं शताब्दीको आधुनिक चेतनाले
आविष्कार गरेको प्रवृत्तिमैत्री आगो हुनुपर्छ
तिमीले अन्दाज गर त्यो जसरी पनि निस्केको हुनुपर्छ ।
यो आगो असामान्य हो आयाम असीमित हुन सक्छ
सल्किँदा एउटा कुनामा सल्किएको आगो
फैलदा विश्वभरि पुग्न सक्छ
यो आगो छुट्टै बिचारको वैज्ञानिक नियममा बल्न सक्छ ।
ओ ! शासक, यो विल्कुल नयाँ हो
जसलाई निभाउने दमकल तिमीले त के
तिमीले गुलामी गरेको महाशक्ति राष्ट्रले पनि बनाएको छैन
ओ ! शासक यो सल्किनै पर्ने आगो हो
जुन सल्किने अन्तिम तयारीमा छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
ppkavre@gmail.com
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |