logo
२०८३ अषाढ १०, बुधबार |
📰
🔍

श्रद्धालुको स्वास्थ्यमा स्मार्ट हेल्थ

प्रभातफेरी अनलाइन१०४० पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन ३, मंगलबार(४ साल अघि)
श्रद्धालुको स्वास्थ्यमा स्मार्ट हेल्थ

विकुनारायण ताम्राकार
काभ्रे । हरेक १२ बर्षमा लाग्ने मकर मेलालाई लक्षित गरेर स्मार्ट हेल्थ नेपालले २०७८ माघ महिनाभर तीर्थस्थल पनौती बसपार्क, ब्रम्हायणी मन्दिर, परिसर र बाँसघारीमा रहेको मुक्तिनाथ मन्दिरमा हेल्थ क्याम्प सञ्चालन गरेर श्रद्धालुहरुको स्वास्थ्य सेवामा अनुकरणीय सेवा पु¥याएको छ ।
स्मार्ट हेल्थ नेपालको आयोजनमा माघ महिनाभर पनौती बसपार्क, ब्रम्हायणी मन्दिर परिसर र बाँसघारीमा रहेको मुक्तिनाथ मन्दिरमा सञ्चालन भएको उक्त क्याम्पमा पनौती नगरपालिका, पनौती प्रहरी चौकी, जिल्ला ट्राफिक कार्यालय काभ्रे, कालिजंग गण, पनौती जुनियर जेसिज, रोट्रयाक्ट क्लब अफ काभ्रे भ्याली, विजी क्याफे पनौती, वेष्ट एफ.एम, मुक्तिनाथ मन्दिर व्यवस्थापन समिति, हाइल्याण्ड आवासीय माध्यमिक विद्यालय, रेडक्रस उपशाखा सुब्बागाउँ लगायतका संस्थाहरुको सहकार्य रहेको थियो ।
आयोजक संस्थाका अनुसार शचीतिर्थ (उत्तर प्रयाग) मा २५ हजार ६ सय २५ पिस त्यसैगरी मुक्तिनाथमा ५ हजार ६ सय पिस गरी जम्मा ३१ हजार २ सय २५ पिस माक्स वितरण गरिएको थियो । त्यस्तै शचीतिर्थमा १ हजार ३ सय र मुक्तिनाथमा २ हजार १४ जना गरी जम्मा ३ हजार ३ सय १४ जनाको ब्लड प्रेसर परिक्षण, शचीतिर्थमा ५४ र मुक्तिनाथमा २० गरि जम्मा ७४ जनाको ड्रेसिङ, शचीतिर्थमा ५ सय ८० र मुक्तिनाथमा ४ सय ३० गरी जम्मा १ हजार १० लाई विभिन्न प्रकारका रोगका औषधीहरु वितरण गरी आवश्यक परामर्श पनि दिइएको थियो ।
त्यस्तै मकर मेला दर्शनको क्रममा बेहोस हुनु भएका ४ जनाको सामान्य प्राथमिक उपचार गरी अस्पतालमा पठाएको थियो भने मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आएका १ सय ५५ जना दर्शनार्थीको सुगरको पनि परीक्षण गरिएको थियो ।
आयोजक स्मार्ट हेल्थ नेपालका अध्यक्ष जितेन्द्र कुमार थापा र कार्यक्रम व्यवस्थापक मनिषा श्रेष्ठको सक्रियतामा एक महिनाभर सञ्चालन भएको उक्त क्याम्पमा बनेपा हेल्थ कियरको प्राविधिक सहयोग रहेको थियो भने अंकिता देउजा, अनुषा श्रेष्ठ, उपासना श्रेष्ठ र रेष्मा के.सी गरी चार जना मेडिकल स्टाफले मास्क वितरण र त्यहाँ आएका बिरामीहरुको सामान्य उपचार गरेको थियो । त्यस्तै पनौती जुनियर जेसिस वर्ष २०२१ का अध्यक्ष विशाल तिमल्सिना, कार्यक्रम संयोजक सन्तोष तामाङ र पनौती जुनियर जेसिस वर्ष २०२० की अध्यक्ष अस्मिता उलक लगायत अन्य विभिन्न व्यक्तिहरु सक्रियतामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।