काभ्रेपलाञ्चोक/ जनमत वाङ्मय प्रतिष्ठानले गत महिना २०८१ चैत्र २३ गते ४१ औँ वार्षिकोत्सव मनाएर २० जना सर्जकलाई सम्मानित गरेको थियो । अरनिको पार्टी प्यालेस, बनेपामा आयोजित उक्त उत्सवमा कारणवश उपस्थित हुन नसकेका दुई सर्जक किशोर पहाडी र फूलमान बललाई आज ललितपुरस्थित आइ ओपनर मिडियाको कार्यालयमा समारोह आयोजित गरी सम्मान अर्पण गरिएको खबर प्राप्त भएको छ ।

प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे लगायत राजभाई प्रधान, प्रेम श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, दियेशरत्न शाक्यबाट दुवै सर्जंकलाई सम्मानपत्र, दोसल्ला, जनमत पदक, नगद रहेको खामद्वारा सम्मानित गरिएको थियो । किशोर पहाडीलाई गणेश-खिलकुमारी दुवाल–जनमत सम्मान र फूलमान बललाई जनमत–ज्ञानरत्न- मङ्गलतारा राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा सम्मानित पहाडी र बल दुवैले गत महिनाको मुख्य कार्यक्रममा छुटेकाहरूलाई यसरी समारोह नै आयोजना गरी सम्मान अर्पण गरेकोमा जनमतप्रति आभार व्यक्त गरे । प्रमुख अतिथि रोचक घिमिरेले आफू मोहन दुवालद्वारा साहित्यिक पत्रकारितामा पुर्याउनुभएको योगदानको प्रशंसक भएको कुरा व्यक्त गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल सभापति रहनुभएको कार्यक्रममा उहाँले नै सबैको स्वागत गर्नुभएको थियो भने प्रतिष्ठानका सचिव सिर्जना दुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

मोहन दुवालले ‘जनमतको ३३० ओैँ अङ्क प्रकाशित गरिसक्नुभएको कुराको प्रमुख अतिथि घिमिरे लगायत सम्मानित स्रष्टाद्वय पहाडी र बलले मुक्तकण्ठले प्रशंसा गरे भने दुवालले चाहिँ जनमत प्रकाशनबारे विस्तृत जानकारी दिनुभयो । कविहरू फूलमान बल, दियेशरत्न शाक्य, चेतनाथ धमला आदिले कविता वाचन गरेको उक्त कार्यक्रममा जनमत वाङ्मय प्रतिष्ठानका सदस्यहरु मात्र होइन दक्षिणकाली नगरपालिकाको सुसेली साहित्यिक प्रतिष्ठानका पदाधिकारीहरूको पनि भव्य उपस्थिति थियो । कार्यक्रमको सञ्चालन रामसुन्दर देउजाले गर्नुभएको थियो ।