logo
२०८३ भाद्र ४, बिहिबार |
📰
🔍

गलत गरेको पुष्टि भए कारवाही भोग्नेछौं : दाहाल

प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
गलत गरेको पुष्टि भए कारवाही भोग्नेछौं : दाहाल

काठमाडौ / नेकपा संयोजक तथा पुर्व प्रधानमन्त्री पुस्पकमल दाहाल पुत्री गंगा दाहालले गलत गरेको पुष्टि भए कारवाही भोग्नेछौं भन्दै सामाजिक संजाल फेसबुक मार्फत आफू माथी विभिन्न मिडिया र सामाजिक संजालमा लगाइएको आरोपहरु को खण्डन गर्नु भएको छ । उहाँले आफुमाथी राजनैतिक प्रतिशोधले लगाइएका आरोप हरुको खण्डन गर्दै सरकारको गम्भीर ध्यानाकर्षण समेत गराउनु भएको छ ।

उहाँले आफू माथी लगाएका गलत आरोप पुष्टि गर्न चुनौती समेत दिनु भएको छ ! उहाँले सरकारको छानबिनमा सहयोग गर्ने पनि बताउनु भएको छ भने गलत अफवाह फैलाउने हरु प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको जानकारी समेत ब्यक्त गर्नुभएको छ । उहांले गलत आरोप र अफवाहको भ्रममा नपर्न आम जनसमुदाय समक्ष अपिल समेत गर्नुभएको छ ।

हेर्नुहोस उहाँको फेसबुक स्टाटस जस्ताको तेस्तै

नमस्कार,

समाज परिवर्तनको क्रान्तिमा होमिएको हाम्रो बाल्यकाल असामान्य ढंगले बित्यो। भोलिको बिहानीको आशासमेत नगरी अनेकौँ रातहरू बिताएका हामीले आज सुन्नै नसकिने आरोप सार्वजनिक रुपमै सुन्नुपर्दा दुख लागेको छ र गम्भिर ध्यानाकर्षण पनि भएको छ। केही समय अघिसम्म चर्को स्वरमा भनियो, “फलानोसँग दुबईमा ४० अर्ब छ, नेपालका ठूला घरजग्गा यिनीहरूकै हुन्, भाटभटेनी र अरू कति-कति सबै यिनीहरूकै हुन्।” हामी चुप बस्यौँ, लाग्यो “नजाने गाउँको बाटै नसोध्नु।” तर अब बोल्नैपर्ने भयो।

राजनीतिक प्रतिशोध र विरोधी बन्नुको पनि सीमा हुन्छ होला! कुनै पनि आरोप पुष्टि नभएपछि बजारमा अहिले ४० अर्बको ठाउँमा ५० करोडको हावादारी हल्ला चलाउन खोजिएको रहेछ। म सार्वजनिक रूपमा चुनौती दिन चाहन्छु, अफवाह फैलाउनेहरूले यसको पुष्टि गर्न सक्छन्? हेक्का रहोस्, सत्य अन्ततः सत्य नै हुन्छ। मैले पटक-पटक भनिरहेको छु, हामीले हजारौ सहिदको रगत साटेर बनाएको संविधान र कानुनबमोजिम, जुनसुकै निकायले गर्ने कानुनी छानबिनका लागि म र मेरो परिवार सदैव तयार छौँ। तर फेरि पनि बेला-बेलामा यस्ता अफवाह किन फैलाइन्छन्? कुन उद्देश्यका साथ फैलाईन्छन्? म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।

हामी मृत्युको मुखबाट बाँचेर आएका हौँ। हामीलाई के गर्न हुन्छ, के गर्न हुँदैन, राम्रोसँग थाहा छ। हामी मृत्युवरण गर्छौं तर जनतालाई धोका दिन सक्दैनौ यहि नै हाम्रो स्कुलिंग हो। आफ्नो व्यक्तिगत जीवनसमेत नभनी मैले मेरो बुवालाई छोरीको नाताले सहयोग गर्नु नै मेरो अपराध हो त? म यस समाजका अगुवाहरूलाई प्रश्न गर्न चाहन्छु। म हरेक आमा बुवालाई प्रश्न गर्न चाहन्छु। हामीबाट कुनै आर्थिक गलत गतिविधि र पदको दुरुपयोग भएको छैन र भोलीका दिनमा पनि हुने छैन। म फेरिपनि स्मरण गराउन चाहन्छु कि हामीले हाम्रो सम्पत्ति विवरण सरकार समक्ष केहि समय अघि नै बुझाईसकेका छौं।

सरकारले गर्ने जुनसुकै अनुसंधानका लागि हाम्रो सहयोग रहनेछ, गलत गरेको पुष्टि भए कारवाही भोग्नेछौं। तर बिनाकारण र बिना गल्तिको आरोप स्विकार्य छैन। यि सबै खाले आरोप म अस्वीकार गर्दछु। म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई कुनै पनि भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु ।