प्रभातफेरी अनलाइन६५ पटक पढिएको | २०८३ भाद्र १३, शनिबार
काभ्रे / जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बाढी तथा विपद् प्रभावित नागरिकका लागि सहयोग गर्न चाहने व्यक्ति, संघसंस्था तथा व्यवसायीलाई सरकारी संयन्त्रमार्फत मात्र सहयोग उपलब्ध गराउन आग्रह गरेको छ।
गत भदौ १० गते रसुवा हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै प्रशासनले सहयोग गर्न इच्छुक महानुभावलाई सुरक्षित र पारदर्शी माध्यम अपनाउन अनुरोध गरेको हो।
प्रशासनका अनुसार नगद सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन्। कोषका विभिन्न बैंक खाताको विवरण तथा क्यूआर कोड प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा उपलब्ध रहेको प्रशासनले जनाएको छ।
त्यस्तै, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य राहत सामग्री सहयोग गर्न चाहनेले नेपाल सरकारले तोकेका स्थानमा वा जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकमा बुझाउन सक्नेछन्। प्रशासन कार्यालयमा संकलित सामग्री राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को निर्देशनअनुसार समन्वय गरी प्रभावित नागरिकसम्म पुर्याइने जनाइएको छ।
राहत सामग्री संकलन तथा समन्वयका लागि प्रशासनिक अधिकृत सुनिता थापालाई सम्पर्क व्यक्ति तोकिएको छ। उनलाई मोबाइल नम्बर ९७६५०३६८१६ मा सम्पर्क गर्न सकिनेछ।
प्रशासनले बाढीपीडितलाई सहयोग गर्ने नाममा व्यक्तिगत वा संस्थागत बैंक खाता तथा क्यूआरमार्फत रकम संकलन नगर्नसमेत सचेत गराएको छ। त्यस्तो गतिविधि भएको पाइएमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) को १२३४ वा ९७४३९६८८३६ मा जानकारी गराउन आग्रह गरिएको छ।
त्यसैगरी, नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा समेत सूचना दिन प्रशासनले सबै नागरिकलाई अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपद्को समयमा प्राप्त हुने सहयोग पारदर्शी र व्यवस्थित रूपमा प्रभावित नागरिकसम्म पुर्याउन सरकारी संयन्त्रमार्फत सहयोग गर्न आग्रह गरेका छन्।
