प्रभातफेरी अनलाइन३ पटक पढिएको | २०८३ भाद्र २७, शनिबार
प्रकृतिको एकै क्षणको प्रहारले जनजीवन अस्तव्यस्त बनाउँदा त्यसको पीडा र घाउमा मल्हम लगाउनु हामी सबैको साझा कर्तव्य हुन आउँछ। बाढी प्रभावितहरूको तत्कालको खानपान, राहत व्यवस्थापन र अस्थायी आवासको प्रबन्धपछिको चरणमा अब हामी थप जिम्मेवार र योजनाबद्ध ढङ्गले अगाडि बढ्नुपर्ने बेला आएको छ। यसै सन्दर्भमा, प्रभावित क्षेत्रमा राहतका कार्यहरूलाई अझ प्रभावकारी बनाउँदै दीर्घकालीन पुनरुत्थानका लागि हामी विशेषगरी चारवटा प्रमुख कामहरूमा केन्द्रित हुँदैछौं।
१. उद्धार तथा घरहरूको पुनरुत्थान
नदीले पुारेका घरहरू र प्रभावितहरूको थप उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन खाल्सा एड इन्टरनेशनल (Khalsa Aid International) को विशेष सहयोगमा उद्धार कार्य अब छिट्टै सुरु हुँदैछ। यसले स्थानीय बासिन्दाहरूलाई सुरक्षित महसुस गराउन र क्षतिग्रस्त संरचनाहरूलाई व्यवस्थापन गर्न मद्दत पुग्नेछ।
२. स्वास्थ्य सेवाको सहज पहुँच
जिल्ला अस्पताल त्रिशूली नदी पारि अवस्थित रहेको कारण नदी वारिका जनसमुदायलाई नियमित स्वास्थ्य सेवा लिन ठूलो सास्ती हुँदै आएको छ। यस समस्यालाई मध्यनजर गर्दै स्थानीयस्तरमै स्वास्थ्य चौकी सञ्चालनमा ल्याइनेछ। साथै, प्रभावित क्षेत्रमा विशेषज्ञ डाक्टरसहितका नियमित स्वास्थ्य शिविरहरूको आयोजना गरी नागरिकहरूको स्वास्थ्य उपचारलाई सहज बनाइनेछ।
३. विस्थापित परिवारहरुका लागि अस्थायी आवास निर्माण
बाढीका कारण रसुवाबाट विस्थापित भई हाल लायन्सद्वारा सञ्चालित अस्थायी आवास केन्द्रमा आश्रित उत्तरगया गाउँपालिका वडा नं. ५, खाल्टेका ३२ घर परिवारका लागि सुरक्षित अस्थायी घरटहराको प्रबन्ध गरिँदैछ। उनीहरूलाई तत्कालका लागि सुरक्षित आश्रयस्थल उपलब्ध गराउन यो कार्य उच्च प्राथमिकतामा राखिएको छ।
४. दीर्घकालीन पुनरुत्थान र पुनस्र्थापना योजना
तात्कालिक राहत र आवास मात्र पर्याप्त नहुने हुँदा बाढी प्रभावितहरूको दीर्घकालीन भविष्य सुरक्षित गर्न हामी योजनाबद्ध ढङ्गले अगाडि बढ्नेछौं। यसअन्तर्गत प्रभावितहरूलाई सुरक्षित स्थायी बसोबासको व्यवस्था, खाद्यान्न सुरक्षा, बालबालिकाको शिक्षा, स्वास्थ्योपचार र जीविकोपार्जनका लागि रोजगारीका अवसरहरू सिर्जना गर्न दीर्घकालीन योजनाहरू कार्यान्वयन गरिनेछ।
यी सम्पूर्ण मानवीय तथा पुनरुत्थानका कार्यहरू कुनै व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव छैन। यस विपद्को घडीमा सम्पूर्ण क्लबहरू, लायन मित्रहरू र सहयोगी मनहरूको एकजुट साथ र सहकार्यले मात्र यो अभियानले पूर्णता पाउन सक्छ। तसर्थ, बाढी प्रभावितहरूको मुहारमा फेरि खुसी फर्काउन र उनीहरूको पुनस्र्थापनाको यो पवित्र अभियानमा हातेमालो गर्नुहुन सम्पूर्ण महानुभावहरूमा हार्दिक आह्वान गर्दछौं।
अनुजकुमार श्रेष्ठ
सचिब
Lins international Distrct325,I Nepal का सेक्रेट हुनुहुन्छ