logo
२०८३ आश्विन १२, सोमबार |
☰
📰
🔍
✕

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

प्रभातफेरी अनलाइन२३ पटक पढिएको | २०८३ आश्विन १२, सोमबार
पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

– दिपक राज मिश्र

पर्यटन केवल एउटा आर्थिक उपार्जन गर्ने माध्यम र उद्योग मात्र होइन। यो विभिन्न संस्कृति, सभ्यता, प्रकृति र मानव समुदायलाई जोड्ने सशक्त माध्यम समेत हो। यसले मानिसहरूबीच आपसी समझदारी,सहिष्णुता,सद्भाव र शान्तिको भावना विकासगर्दै विश्वभरीका मानिसहरुलाई निकट बनाईरहेको हुन्छ। त्यसैले पर्यटन नेपालको आर्थिक समृद्धिको आधार मात्र नभई पहिचान, संस्कृति र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यम पनि हो। नेपालको सन्दर्भमा पर्यटनले राष्ट्रिय अर्थतन्त्रमा ६ देखि ७ प्रतिशत योगदान गर्छ र १० लाखभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ। बागमती प्रदेशले देशको कुल ग्राहस्थ्य उत्पादनको ३६.५ प्रतिशत योगदान गर्छ। जसमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका छ। होस्पिटालिटी उद्योगबाट प्राप्त कुल आयमा बागमती प्रदेशले १५२ अर्ब ७६ करोड रुपैयाँ योगदान गरेको छ, जुन यस क्षेत्रको देशभरको सबैभन्दा ठूलो हिस्सा हो। सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका थिए, जुन २०१९ को तुलनामा ९६.८ प्रतिशत बढी हो। सन् २०२६ को जनवरी देखि जुन सम्म ५ लाख ६७ हजार ४१० पर्यटक आगमन भएको छ, जुन २०२५ को तुलनामा १५ देखि २० प्रतिशत बढी हो। बागमती प्रदेशमा होटलमा बास बस्ने पर्यटकको दर पनि उलेख्य बृद्धि भएको आंकडा पर्यटन संग सम्बन्धित विभिन्न तथ्याङ्कहरुमा देख्न पाईन्छ।

चुनौती पछिको सङ्कल्प

यस वर्षको हामीले पर्यटन उत्सवहरुसँगै चुनौती र पुनरुत्थानको सङ्कल्प पनि गरिरहेका छौँ। जलवायु परिवर्तनका कारण विश्वभर प्राकृतिक विपत्तिका घटना बढिरहेका छन्। नेपालमा पनि मनसुनी बाढी, पहिरो, हिमपहिरो तथा अन्य प्राकृतिक प्रकोपले जनधन, सडक, पदमार्ग, होटल तथा पर्यटकीय पूर्वाधारमा क्षति पुर्‍याएका छन्। जलवायु परिवर्तनको प्रत्यक्ष असर विषेश रुपमा बागमती प्रदेशमा देखिएको छ। सुनकोशी, तामाकोशी, नारायणी, बागमती नदी बेसिनमा मौसमी बाढी र सुक्खा, हिमाली क्षेत्रमा हिमनदी पग्लने दर वृद्धि, र डढेलोका घटनाहरूले पर्यटन पूर्वाधारमा गम्भीर असर पारीरहेका छन्। सेप्टेम्बर २०२६ मा भोटेकोशी बाढीले लाङटाङ जोड्ने सडक र पुल बगायो, जसले गर्दा पर्यटकहरू हेलिकप्टरमा निर्भर बन्न परेको छ। जस कारणले तत्कालनै पर्यटक आगमन दर १८.३ प्रतिशत घट्यो, विनाशकारी बाढी प्रमुख र बाढी पश्चात देखीएको राहत उद्धारमा देखीएको अलमल एवम् सरकारी रबैया प्रमुख कारणको रुपमा रहेको देखिन्छ। मनसुनयाममा आएको पहिरोले धादिङ, नुवाकोट, रसुवाका पदमार्गहरू अवरुद्ध भए। यस्ता विपत्तिको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पर्ने भएकाले अब पर्यटन विकासलाई जलवायु अनुकूल, सुरक्षित र दिगो बनाउनुपर्ने आवश्यकता अझ स्पष्ट भएको छ।

विपत्तिपछिको अदम्य साहस

विपत्तिले हाम्रा पर्यटन लागायत यसको सहयोगी पूर्वाधार आयामहरुमा निकै ठुलो क्षति पुर्‍याएको छ तर पनि हामी नेपाली जनताको साहस, धैर्यता र आतिथ्यको भावनालाई कमजोर बनाउन सकेको भने पक्कै छैन। २०७२ सालको विनाशकारी भूकम्पदेखि कोभिड १९ महामारीसम्मका संकटबाट हामीले सिकेका छौँ कि चुनौतीपछि पुनरुत्थान सम्भव छ। बागमती प्रदेश भित्रको लाङटाङ लगायत विभिन्न पदमार्गहरु एवम् अन्य पर्यटन संग सम्बन्धित धार्मिक तथा पुरातत्विक संरचनाहरु भत्किए थिए तापनि तिनिहरुको निर्माण तथा पुःनिर्माण गरी त्यसबाट तंग्रिन सफल भएको उदाहरण हामी संग प्रशश्त छन्। समग्र पर्यटन उद्योगहरुको पछिल्लो तथ्याङ्कहरु हेर्दा नेपाली जनता र पर्यटन क्षेत्र हरेक संकटबाट झन् बलियो र परिष्कृत भएर तंग्रिएको छ। त्यसैले वर्तमान कठिन परिस्थितिमा पनि पर्यटन व्यवसायी, पर्यटन क्षेत्रका श्रमिक र पर्यटन संग सरोकार राख्ने आम नागरिकहरु धैर्य, आशा र आत्मविश्वासका साथ अघि बढ्न सक्दछन त्यसक लागी सरकारले नितिगत सहित विभिन्न सहयोग मुलक कार्यक्रमहरु तथा पुर्वाधारहरुमा सहयोग गर्न जरुरी छ।

बदलिँदो पर्यटन बजार

आज विश्व भू-राजनीतिक तनाव, आर्थिक उतारचढाव र जलवायु संकटको त्रिवेणीमा उभिएको छ। बदलिँदो विश्व पर्यटन बजारले पनि सुरक्षित, उत्तरदायी, हरित र समुदायमैत्री पर्यटनलाई प्राथमिकता दिइरहेको छ। विश्वव्यापी पर्यटक मनोविज्ञान अनुसार पर्यटकहरू अब पर्यावरण संरक्षण र स्थानीय समुदायको हितमा योगदान पुग्ने गन्तव्यहरू खोजीमा छन्। कोभिड पछि स्वास्थ्य सुरक्षा, बीमा, उद्धार प्रणालीलाई उच्च प्राथमिकता दिइएको छ। पर्यटकहरू केवल दृश्यावलोकन मात्र होइन, स्थानीय संस्कृति, खाना, जीवनशैलीको अनुभव चाहन्छन्। अनलाइन बुकिङ प्रणाली, डिजिटल भुक्तानी तरीका, सामाजिक सञ्जाल मार्फत जानकारी लिने र दिने प्रवृत्ति बढेको छ। नेपालको सन्दर्भमा हेर्दा तुलनात्मक लाभमा सांस्कृतिक विविधता छ। १०० भन्दा बढी जातजाति, १०० भन्दा बढी भाषा, अनेकौं धर्म र परम्परा छन्। भौगोलिक अनेकतामा ८ हजार मिटरभन्दा अग्ला ८ हिमाल मध्ये ८ वटा नेपालमा छन्। भार्मिक सहिष्णुताको लागी लुम्बिनी बुद्धको जन्मस्थल, पशुपतिनाथ, मुक्तिनाथ आध्यात्मिक केन्द्रहरू छन्। ट्रेकिङ, माउन्टेनियरिङ, राफ्टिङ, प्याराग्लाइडिङ जस्ता साहसिक पर्यटनका प्रमुख गतिविधिहरू हामीसंगछन् अत यिनिहरुलाई विषेश ध्यान दिन पर्ने र सरोकारवाल सबैको सहकार्य र ऐकबद्धता आबश्यक देखिन्छ।

पर्यटन मुटुको रुपमा बागमती प्रदेश

बागमती प्रदेश नेपालको पर्यटन क्षेत्रको हृदय हो र आर्थिक रूपमा सबैभन्दा महत्त्वपूर्ण तथा सवल प्रदेश हो। यो प्रदेशले देशको कुल ग्राहस्थ्य उत्पादनमा ३६.५ प्रतिशत योगदान गर्छ र पर्यटन पूर्वाधार,होटल व्यवसाय तथा सांस्कृतिक सम्पदालगायतको क्षेत्र यस प्रदेशको केन्द्र बिन्दु पनि हो। यस प्रदेशको क्षेत्रफल २० हजार ३०० वर्ग किलोमिटर छ। जनसङ्ख्या ६० लाख ८० हजार छ, जुन देशकै सबैभन्दा बढी हो। जसमा १३ जिल्ला छन् ।काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली। राजधानी हेटौंडा भए तापनि काठमाडौं उपत्यका लगायत यसको वरपरको भुभाग आर्थिक र पर्यटन केन्द्र हो। पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, चाँगुनारायण, काठमाडौं, पाटन, भक्तपुर दरबार क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेका छन्। र यि ७ वटा क्षेत्रहरु विश्व सम्पदा सुचिमा समेत सुचिकृत रहेका छन्। यहाँ वार्षिक ५ लाखभन्दा बढी पर्यटक आउँछन्। त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी, हात्तीको अनुभव, राप्ती नदीमा डुङ्गा सयर, थारू संस्कृति अवलोकन गर्नको लागी प्रख्यात रहेका छन्। यहाँ वार्षिक १ लाख ५० हजारभन्दा बढी पर्यटक आउँछन्। लाङटाङ–हेलम्बु पदमार्ग नेपालको तेस्रो सबैभन्दा लोकप्रिय ट्रेकिङ क्षेत्र हो। यहाँ वार्षिक ६० हजारभन्दा बढी पर्यटक आउँछन्। तामाङ संस्कृति, गोसाइँकुण्ड ताल, हिमाली दृश्य प्रमुख आकर्षणहरू हुन्। धार्मिक तथा आध्यात्मिक स्थलहरूमा पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ र बौद्धनाथ, दोलखा भीमेश्वर, कालिन्चोक भगवती, गोसाइँकुण्ड छन्। ऐतिहासिक सम्पदामा नुवाकोट दरबार, सिन्धुलीगढी, मकवानपुरगढी भक्तपुर, पाटन, कीर्तिपुर दरवार तथा पुरातत्विक क्षेत्रहरु पनि रहेका छन्।

बिशेष सांस्कृतिक विविधता र पहिचानकोलागी बागमती प्रदेश

बागमती प्रदेश नेपालको बहुसांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्पदाहरुको केन्द्र समेत हो। तामाङ समुदायको सोनाम ल्होछार, नेवार समुदायको समृद्ध कला, नेपाल भाषा तथा संस्कृति, दशैं, तिहार र तीजजस्ता पर्वले यहाँको सामाजिक तथा सांस्कृतिक विविधतालाई जीवन्त बनाएका छन्। नेपालकै सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा जुन १ महिनासम्म चल्छ जसमा हजारौं श्रद्धालु र स्वदेशी तथा विदेशी पर्यटकहरुको सहभागिता हुन्छ। यो युनेस्को अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समेत सूचीकृत छ। जीवित देवीको रूपमा रहेकी कुमारीलाई सहर परिक्रमा गराएर सम्पन्न गरिने इन्द्रजात्रामा लाखौं भक्तजन र पर्यटकको भीड लाग्छ। भक्तपुरको बिस्केट जात्रा जुन नेपाली नयाँ वर्षको अवसर सहित बर्षको २ पटक मनाइन्छ जसमा रथ तान्ने परम्परा, सांस्कृतिक कार्यक्रमहरू हुन्छन्। त्यसैगरी हिन्दु महिलाहरुको माहान पर्वको रुपमा मनाईने तीज महिलाहरूको पर्व हो । रातो लुगा, गीत, नृत्य,सामूहिक उत्सव गरिन्छ। जुन विदेशी पर्यटकहरूले लागि नौलौ आकर्षक सांस्कृतिक अनुभव समेत लिने गर्दछन। स्थानीय कला र हस्तशिल्पकला चित्रकला, धातु शिल्प, माटोका सामान, हस्तनिर्मित कागज लगायत अन्य सांसकृतिक पहिरन हरु पनि महत्वपुर्ण रहेका छन्। मौलिक खाद्य परम्परामा नेवारी परिकार, तामाङ परिकार, थारू परिकार, स्थानीय पेयहरू पनि यसका विषेश पहिचान हुन।

क्षेत्रीय सहकार्य र साझा संकट, साझा समाधान तथा बागमती प्रदेश

दक्षिण एसिया तथा हाम्रा छिमेकी मुलुक भारत र चीन नेपालको पर्यटन विकासका महत्वपूर्ण साझेदार हुन्। साझा संस्कृति, जीवनशैली, धार्मिक परम्परा र हिमाली भूगोलले लगायतको विभिन्न कारणबाट क्षेत्रीय पर्यटन सहकार्यका लागी प्रशस्त सम्भावनाहरु रहेका छन्। हिमालय क्षेत्रमा हुने प्राकृतिक विपत्तिको जोखिम पनि साझा भएकाले साझा संकट, साझा समाधानको अवधारणा अनुसार क्षेत्रीय सहकार्य, विपद् पूर्वसूचना प्रणाली र पर्यटक उद्धार तथा सुरक्षालाई थप सुदृढ बनाउन समेत टेवा पुग्न सकिने देखिन्छ। भारतसँगको सहकार्यमा धार्मिक सर्किटहरु जस्तै लुम्बिनी–अयोध्या–वाराणसी–बोधगया सम्मको यात्रा। खुला सीमा छ, नेपाल–भारत सीमामा भिसा आवश्यक छैन,सजिलो आवागमन छ। भारतका ६० करोडभन्दा बढी मध्यमवर्गीय नागरिकहरू संभावित पर्यटक हुन्सक्छन। क्षेत्रीय उडानहरूमा काठमाडौं–दिल्ली, काठमाडौं–मुम्बई, काठमाडौं–कोलकाता, काठमाडौं–बेङ्गलोर दैनिक उडानहरू छन्। पोखरा–दिल्ली, भैरहवा–दिल्ली लगायत सिधा बस यात्राको रुटहरू चालुमा छन्।चीनसँग सहकार्यमा रसुवागढी–केरुङ नाका चीन–नेपाल सीमापार पर्यटनको मुख्य नाका हो। तिब्बत पर्यटनमा कैलाश–मानसरोवर, ल्हासा, शिगात्से नेपाली पर्यटकहरूका लागि पवित्र स्थलहरू हुन्। बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत पूर्वाधार विकास, सडक, रेलवे, ऊर्जा क्षेत्रमा सहकार्य हुन सक्छ। तर चुनौतीको रुपमा अझै कायम रहेको कोभिड पछि सीमा नाका अझै पूर्ण रूपमा खुलेका छैनन्। भिसा प्रक्रिया जटिल र महँगो छ। सार्क सहकार्य अन्तर्गत सार्क देशहरू बीच संयुक्त पर्यटन प्याकेज कार्यक्रमहरुको खोजी र कार्यन्वयन। सार्क क्षेत्रका नागरिकहरूका लागि पर्यटक भिसामा छुट वा निःशुल्क व्यवस्था तर्फ पनि विचारगर्न जरुरी देखिन्छ।

बागमती प्रदेशका विशिष्ट सम्भावनाहरू

बागमती प्रदेशसँग क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यटन विकासका लागि विशिष्ट सम्भावनाहरु छ। धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि बुद्ध, शिव–शक्ति र रामायण सर्किटको विकास तथा प्रवर्द्धन गर्न सकिन्छ। अन्तर्राष्ट्रिय विमानस्थलहरूको अधिकतम उपयोग गर्दै क्षेत्रीय उडान विस्तार, सीमापार पर्यटन सहजीकरण र छिमेकी मुलुकका ठूलो मध्यमवर्गीय बजारलाई लक्षित पर्यटन पूर्वाधार विकासमा ध्यान दिनुपर्छ। धार्मिक पर्यटन सर्किटहरूमा बुद्ध सर्किट जुन काठमाण्डौ स्वयम्भुनाथ, बौद्धनाथ, नमोबुद्धक्षेत्र लगायत भिभिन्न बागमती प्रदेश भित्रका प्रमुख बौद्ध गुम्वाहरु तथा छोर्तेनहरु सहित लुम्बिनी, कपिलवस्तु, तिलौराकोट, रामग्राम, देवदह। जसको माध्यमबाट विशेषगरी जापान, कोरिया, थाइल्यान्ड, भियतनाम लगायतका देशहरुबाट वार्षिक लाखौ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ। शिवशक्ति सर्किटमा पशुपतिनाथ, दक्षिणकाली, कालिन्चोक भगवती, मनकामना, चन्द्रागिरी छन्। हिन्दू श्रद्धालुहरूका लागि पवित्र तीर्थस्थलहरू हुन्। वार्षिक हिन्दू पर्यटक १० लाखभन्दा बढी छन्, विशेषगरी भारत, मलेशिया, इन्डोनेसियाबाट। रामायण सर्किटमा जनकपुर, अयोध्या, चित्रकूट, रामग्राम छन्। रामायण कथामा उल्लेखीत पवित्र स्थलहरू हुन्। जाहां अहिलेपनि वार्षिक पर्यटक ५ लाखभन्दा बढी आईरहेको देखिन्छ। पूर्वाधार विकासमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक ६० लाखभन्दा बढी यात्रु क्षमता छ जसको अगमन तथा प्रस्थानको रुपमा बागमती प्रदेश रहेकोले यसको पहिलो फाईदा समेत यसै प्रदेशलेनै लिन सक्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्ण रुपमा सञ्चालनमा लेराउन सकीएमा पर्यटन क्षेत्रको ठुलो कोशेढुङ्गा सावित भई देशकै राजधानीको रुपमा रहेको बागमती प्रदेशले मनग्य फाईदा लिन सकने देखिन्छ। त्यसैगरी त्रिभुवन राजपथलाई पर्णटन राजमार्ग घोषणा गरी विविध पर्यटकीय गतिविधीको लागी नितिगत ब्यवस्था सहित पर्यटकीय पुर्वाधारहरुको विकास गर्न सकिएमा यसको पहिलो फाईदा बागमती प्रदेशले लिन सक्ने थियो। जाहां दक्षिणतर्फका भारतिय पर्यटक तथा राजधानी केन्द्रीत पर्णटकीय केन्द् कायम गर्न सकिनेछ ।

नीतिगत प्राथमिकताहरू: अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना

पर्यटन क्षेत्रको विकासको लागी सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनामार्फत जलवायु-अनुकूल पूर्वाधार निर्माण तथा पुनर्निर्माण, पर्यटक सुरक्षा सहितको उद्धार प्रणाली, समुदायमा आधारित दिगो पर्यटन,डिजिटल प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक छ। अल्पकालीन कार्यहरू जुन एक देखि दुई वर्षमा गर्नुपर्ने विपद् जोखिम न्यूनीकरणमा लाङटाङ, हेलम्बु, गोसाइँकुण्ड जस्ता अत्यन्त रोमाञ्चक एवम् जोखिमपूर्ण पदमार्ग क्षेत्रहरूमा आधुनिक विपद् पूर्वसूचना प्रणाली स्थापना गर्नुपर्छ। काठमाडौं, धुन्चे, स्याब्रुबेसी, रुवीभ्याली, जिरि तथा चितवन लगायतका महत्वपुर्ण पर्यटक गतिविधि बाक्लो रहने स्थानहरुमा २४ घण्टा पर्यटक उद्धार केन्द्र खोल्नुपर्छ। सबै पर्यटक र पर्यटन व्यवसायीहरूको लागि अनिवार्य दुर्घटना बीमा गर्नुपर्छ। पूर्वाधार मर्मतमा बाढी र पहिरोबाट क्षतिग्रस्त सडक, पुल, पदमार्गहरूको द्रुत मर्मत गर्नुपर्छ। क्षतिग्रस्त लज,होटलहरूको पुनर्निर्माणमा आर्थिक सहयोग गर्नुपर्छ। सुरक्षित ट्रेकिङ रुटका पदमार्गहरूमा सुरक्षा संकेत, आश्रयस्थल, सञ्चार सुविधा पुर्याउनु पर्ने देखिन्छ। त्यसैगरी प्रवर्द्धनात्मक अभियानमा नेपाल सुरक्षित छ, नेपाल खुला छ भन्ने अन्तर्राष्ट्रिय अभियान समेत चलाउन जरुरी देखिन्छ। आन्तरिक पर्यटन प्रवर्द्धनमा घुमफिर बागमती र प्याराडाईज बागमती जस्ता कार्यक्रमहरुलाई पुनः अभियानको रुपमा चलाउनुपर्छ। क्षेत्रीय बजारमा भारत र चीनबाट पर्यटक आकर्षित गर्न विशेष प्याकेज बनाउनुपर्छ।दडिजिटल प्रविधिमा राष्ट्रिय पर्यटन डिजिटल ड्यासबोर्ड, अनलाइन बुकिङ प्रणाली बनाउनुपर्छ, जसमा होटल, लज, गाइड, यातायातको लागि एक-ढोका प्लेटफर्म हुन्छ। Instagram, TikTok, YouTube, Face Book, Reels Tourist Vlogs लगायतका सामाजिक सञ्जाल मार्फत बागमती प्रदेश भित्रका पर्यटन गन्तब्हरुको प्रचारप्रसार प्रवर्द्धन गर्नुपर्छ। तीन देखि पाँच वर्षमा गर्नुपर्ने मध्यकालीन कार्यहरूमा जलवायु-अनुकूल पूर्वाधारहरुमा पर्यावरणमैत्री हरित होटल र लज बनाउन निजिक्षेत्रलाई प्रेरित गर्नु जसमा सौर्य ऊर्जा, जैविक फोहोर व्यवस्थापन, पानी संरक्षण प्रणाली तथा कार्बन तटस्थ पर्यटन प्रवर्द्धन गर्नुपर्छ। बाढी र पहिरो प्रतिरोधी जलवायु-लचिलो सडक पुर्वाधार निर्माणमा जोड दिनु।

धार्मिक र सांस्कृतिक पर्यटन सर्किटमा बुद्ध सर्किट, शिवशक्ति सर्किट, रामायण सर्किटको पूर्ण विकास गर्नुपर्छ। लाङटाङ–हेलम्बु–गोसाइँकुण्ड–नुवाकोट-मकवानपुर सहितको तामाङ संस्कृति सर्किट, काठमाडौं–पाटन–भक्तपुर–कीर्तिपुर सहितको नेवारी संस्कृति सर्किट, गढी देखी गढी सम्मको यात्रा कार्यक्रमहरु र संरचनाहरु हाई हिमालयन खेलकुद सर्किट जस्ता विभिन्न कार्यक्रमहरु र त्यसलाई आबश्यक पर्ने पर्यावरणमैत्री संरचनाहरु निर्माणमा प्रदेशसरकारले जोड दिन पर्ने देखीन्छ। जुन कार्यक्रमहरु संचालन गर्नका लागी धार्मिक, पुरातत्विक एवम् पर्यावरणमैत्री पर्यटन पुर्वाधार निर्माणको लागी वन पर्यावरण, पुरातत्व धार्मिक संरचना निर्माणको विशेष आर्किट्रेचर तथा पुर्वाधार विज्ञसहितको आयोजना कार्यालय स्थापना गरी त्यसै मार्फत कार्यक्रम तथा परियोजनाहरु निर्माण एवम् कार्यन्वयन गर्न समेत आबश्यक देखिन्छ नकी सबै पुर्वाधार निर्माणसंग यि विषयहरु संगै लैजान कठीन देखिन्छ। क्षेत्रीय सहकार्यमा चीन–नेपाल पर्यटन सम्झौता सहित रसुवागढी–केरुङ नाकाबाट पर्यटक आवागमन सहज बनाउनुपर्छ। भारत–नेपाल खुला सीमा पर्यटनमा जनकपुर–अयोध्या, भैरहवा–लुम्बिनी, काठमाडौं–पटना रुटहरू विकास गर्नुपर्छ। सार्क पर्यटन सहकार्यमा सार्क देशहरू बीच संयुक्त पर्यटन प्याकेज बनाउनुपर्छ।

भगवान पशुपतिनाथको दर्शनको लागी हिन्दु विदेशी पर्यटकका लागी विशेष प्याकेज निर्माण गरी कार्यान्वयनमा लेराउन पनि जरुरी देखिन्छ। प्रदेश सरकारले संघीय सकारको सहकार्यमा उपत्यका भित्र तथा बाहिरका गुठी नियन्त्रण तथा समिति मार्फत संचालित मन्दिर लगायतको क्षेत्रमा पनि पर्यटन प्रवर्धनको कार्यहरु अगाडी बढाउन पर्ने देखिन्छ। मानव संसाधन विकासमा गाइड, पोर्टर, कुक, होटल कर्मचारीका लागि तालिम केन्द्र स्थापना गर्नुपर्छ।महिलाहरूलाई पर्यटन व्यवसायमा संलग्न गर्न विशेष कार्यक्रम चलाउनुपर्छ। अङ्ग्रेजी, चीनियाँ, हिन्दी, जापानी, कोरियाली भाषा तालिम कारेयक्रमहरुमा जोड दिन पर्छ। दीर्घकालीन कार्यहरू पाँच देखि दस वर्षमा गर्नुपर्ने दिगो पर्यटन मोडलमा समुदायमा आधारित पर्यटन प्रवर्द्धन गर्नुपर्छ, जसले स्थानीय समुदायलाई पर्यटनबाट प्रत्यक्ष लाभ पुर्‍याउँछ। स्थानीय उत्पादन प्रवर्द्धन गर्नुपर्छ: हस्तशिल्प, स्थानीय खाना, सांस्कृतिक प्रदर्शन। पर्यटन राजस्व पुनर्वितरण गर्नुपर्छ, स्थानीय सरकारहरूलाई पर्यटन राजस्वको उचित हिस्सा दिनुपर्छ। अन्तर्राष्ट्रिय स्तरको पूर्वाधारमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा प्रदेश सरकारलेनै अगुवाई लिने। उच्च- गुणस्तरका होटल चेन ल्याउन अन्तर्राष्ट्रिय होटल ब्रान्डहरू आकर्षित गर्नुपर्छ। केबलकार र रोपवे निर्माणमा सहजिकरण गरिनुपर्छ। अनुसन्धान र नवप्रवर्तनमा प्रदेश पर्यटन अनुसन्धान केन्द्र, प्रदेश विश्वविद्यालय वा प्रदेश पर्यटन बोर्ड अन्तर्गत पर्यटन विद्यालय र तालिम केन्द्रहरुको स्थापना गर्नुपर्छ। जलवायु अध्ययन केन्द्र तथा नियमित कार्यक्रमहरु संचालन गर्नुपर्छ।

पर्यटन श्रमिकनै पर्यटन दुत

हाम्रा गाइड, भरिया, होटल तथा रेस्टुरेन्ट व्यवसायी, श्रमिक र स्थानीय नागरिकहरू नेपालको पर्यटनका वास्तविक दूत हुन्। उहाँहरूले देखाउनुभएको साहस, धैर्यता र अतिथि देवो भवःको भावना नेपालको सबैभन्दा ठूलो शक्ति हो। पर्यटन श्रमिकहरूको योगदानमा १० हजारभन्दा बढी दर्ता गाइडहरू छन्। ५० हजारभन्दा बढी पोर्टरहरू छन्, जसमध्ये अधिकांश सुचिकृत नभएका र असुरक्षित छन्। १ लाख भन्दा बढी प्रत्यक्ष रोजगारी होस्पिटालिटी क्षेत्रमा छन्। लज, रेस्टुरेन्ट, यातायात, हस्तशिल्पमा पनि लाखौं श्रमिक छन्। उनिहरुमा न्यून पारिश्रमिक, असुरक्षित कार्य अवस्था छन्। सामाजिक सुरक्षा, बीमा, पेन्सनबाट बन्चित छन्। मौसमी रोजगारी मात्र छ। न्यूनतम पारिश्रमिक सुनिश्चित, अनिवार्य दुर्घटना बीमा र स्वास्थ्य बीमा तालिम र क्षमता विकास कार्यक्रम सहित श्रमिकहरूको सामाजिक सुरक्षा कोषमा जोडनकोलागी प्रदेश सरकारले ध्यान पुर्याउन जरुरी देखिन्छ।

पर्यावरणमैत्री, सुरक्षित, समावेशी र दिगो पर्यटनको संकल्प

अन्त्यमा विपत्ति कहिल्यै पनि स्थायी हुँदैन। बरु हाम्रो दृढ इच्छाशक्ति, मिहिनेत र सहकार्य स्थायी शक्ति हुन्। प्रकृतिले चुनौतीसँगै सुनौलो अवसर पनि दिएको हुन्छ। हामी सबै मिलेर अघि बढ्यौँ भने हाम्रा हिमाल, नदी,पदमार्ग,संस्कृति र सम्पदामा फेरि विश्वभरका पर्यटकको आकर्षण बढाउन सकिनेछ। आउनुहोस् विपति पश्चातको यो अवसरमा हामी सबै मिलेर सङ्कल्प गरौँ। नेपालको पर्यटनलाई अझ पर्यवरणमैत्री, सुरक्षित, समावेशी, जिम्मेवार र दिगो बनाउने बिषयमा प्रण गरौ। प्राकृतिक विपत्तिबाट सिर्जित चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै नेपाललाई विश्वकै आकर्षक, सुरक्षित र जीवन्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने यात्रामा निरन्तर अघि बढौं रसरोकारवाला सबैसंग हातेमालो गरौं।