logo
२०८३ मंसिर ११, शुक्रबार |
☰
📰
🔍
✕

करार कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्ता सामाजिक सुरक्षा कोषमा आबद्ध हुने

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | मंसिर ११, २०८३ | शुक्रबार
करार कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्ता सामाजिक सुरक्षा कोषमा आबद्ध हुने

काठमाडौं / सरकारले संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक तथा बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीतिगत आधार तयार गरेको छ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी दिनुभएको हो।

मन्त्री बादीका अनुसार सरकारले क्रमशः प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी अस्थायी प्रकृतिका सबै कर्मचारी तथा शिक्षकलाई समेत सामाजिक सुरक्षा प्रणालीमा समेट्ने योजना बनाएको छ।

निजी क्षेत्रका रोजगारदाता तथा श्रमिकसँगै सरकारी क्षेत्रमा कार्यरत तर सामाजिक सुरक्षा सुविधा प्राप्त नगरेका कर्मचारीलाई पनि सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने सरकारको नीति रहेको उहाँले बताउनुभयो।

चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको खर्च शीर्षकमा १ अर्ब ८० करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ। सोही रकमबाट संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई कोषमा आबद्ध गराउने आधार तयार गरिएको मन्त्री बादीले जानकारी दिनुभयो।