logo
२०८३ श्रावण २६, मंगलबार |
📰
🔍

सडकदेखि सुशासनसम्मका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

प्रभातफेरी अनलाइन९ पटक पढिएको | १ घण्टा अघि
सडकदेखि सुशासनसम्मका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं / प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक तथा पूर्वाधार, ग्यास आपूर्ति, रोजगारी, स्वास्थ्य, शिक्षा, सुशासन, विपद्, सामाजिक न्याय र सेवा प्रवाहलगायत जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको शून्य समयमा बोल्दै सांसदहरूले ग्यासको सहज आपूर्ति तथा कालोबजारी नियन्त्रण, रोजगारी सिर्जना, आर्थिक वृद्धि, वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण, विपद् व्यवस्थापन तथा पुनःनिर्माण, सामाजिक विभेद अन्त्य, समावेशिता, भूमिहीनका समस्या, दूरसञ्चार तथा प्रविधि विस्तार र अपराध नियन्त्रणका विषय उठाएका थिए।

सांसदहरूले युवा शक्तिको सदुपयोग गर्न, अलपत्र आयोजनालाई अघि बढाउन, सार्वजनिक यातायात व्यवस्थित गरी यात्रुलाई राहत दिन, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउन तथा रेलमार्ग निर्माणका क्रममा रोकिएको मुआब्जा वितरण गर्न सरकारसँग माग गरेका छन्। साथै बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत् तथा महाकाली आयोजनालाई गति दिन र कर्णालीका सडक पूर्वाधार निर्माणलाई प्राथमिकता दिन उनीहरूले आग्रह गरेका छन्।

यसैगरी, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको मृत्युबारे छानबिन गर्न, ‘आईभीएफ’ सम्बन्धी कानुन ल्याउन, मधेसी तथा थारु समुदायमाथि हुने दुर्व्यवहार अन्त्य गर्न र तीन तहका सरकारबीच प्रभावकारी समन्वय कायम गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। कर्णालीलाई पर्यटकीय हबका रूपमा विकास गर्न तथा सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिनसमेत उनीहरूले आग्रह गरेका छन्।

सांसदहरूले चन्द्रागिरिको बौद्धस्तूपका लागि आवश्यक बजेट व्यवस्था, रोजगारी सिर्जना, चिकित्सक पलायन रोक्ने नीति, सरकारी तथा निजी अस्पतालमा चिकित्सकको पारिश्रमिकमा समानता, सबै निर्वाचन क्षेत्रमा समान आधारमा बजेट विनियोजन, वन्यजन्तु आतंक तथा डुबानको समस्या समाधान र जाजरकोट भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन माग गरेका छन्।

त्यस्तै, विधिविज्ञान प्रयोगशालाको क्षमता विस्तार, वैदेशिक रोजगारी तथा विद्यार्थी भिसामा हुने ठगी नियन्त्रण, वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान, भूमिहीनलाई जग्गा उपलब्ध गराउने व्यवस्था तथा गुणस्तरीय दूरसञ्चार सेवा नपुगेका नलगाडलगायत क्षेत्रमा सेवा विस्तार गर्न उनीहरूले आग्रह गरेका छन्। ‘हेलो सरकार’को प्रभावकारिता बढाउन तथा अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका मागलाई प्राथमिकताका साथ सम्बोधन गर्नसमेत सांसदहरूले सरकारको ध्यानाकर्षण गराए।

सुनसरी घटनाको निष्पक्ष छानबिन, भक्तपुरस्थित सुधारगृहमा भएको हत्या प्रकरणको अनुसन्धान तथा सुधारगृहको सुरक्षा व्यवस्था सुदृढ गर्न पनि सांसदहरूले माग गरेका छन्। सिंहदरबारमा आमनागरिकको पहुँच सहज बनाउन, मधेस प्रदेशमा सर्पदंश उपचारका लागि पर्याप्त ‘एन्टिभेनम’ उपलब्ध गराउन तथा सर्वसुलभ रूपमा ग्यास आपूर्ति सुनिश्चित गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्।

शून्य समयमा सांसदहरूले सुशासन, पारदर्शिता र जनमुखी नीति तथा कार्यक्रममार्फत सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउनसमेत जोड दिएका थिए। विभिन्न सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या तथा समसामयिक विषय उठाउँदै तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।