प्रभातफेरी अनलाइन५ पटक पढिएको | ५८ मिनेट अघि
काठमाडौं / निर्वाचन आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन तथा प्रहरीको भूमिकाबारे छलफल भएको छ।
कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था तथा निर्वाचनका क्रममा नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा छलफल गरिएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार महानिरीक्षक कार्कीले नवनियुक्त प्रमुख आयुक्त कार्की तथा आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।
महानिरीक्षक कार्कीले विद्यमान कानुन तथा आयोगको निर्देशनअनुसार निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नेपाल प्रहरी सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे।
प्रमुख आयुक्त कार्की र आयुक्तद्वय वाग्ले तथा सुब्बाले यही साउन १४ गते पदबहाली गरेका थिए।