logo
२०८३ श्रावण २६, मंगलबार |
📰
🔍

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छालाई १ करोड धरौटी

प्रभातफेरी अनलाइन११ पटक पढिएको | ४८ मिनेट अघि
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छालाई १ करोड धरौटी

काठमाडौं / विशेष अदालतले हिमालयन रि–इन्सुरेन्स कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरण मुद्दामा १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले आइतबार गोल्छालाई नगद धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

गोल्छाविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गरिएको थियो। अभियोगपत्रमा उनले हिमालयन रि–इन्सुरेन्सको अध्यक्ष रहँदा संस्थाको २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ र व्यक्तिगत ५२ करोड ५० लाख रुपैयाँ अवैध रूपमा सेयर बजारमा परिचालन गरेको आरोप लगाइएको छ।

सरकारी पक्षका अनुसार गोल्छाले ब्रोकर नम्बर ५५ मार्फत दीपक भट्टलगायतका व्यक्तिको नाममा सेयर खरिद गरी बजारमा कृत्रिम मूल्यवृद्धि गराएको र गैरकानुनी लाभ लिएको आरोप छ। अनुसन्धानका क्रममा संस्थागत रकम तथा व्यक्तिगत सम्पत्तिको स्रोत लुकाउन खोजेको र पदको दुरुपयोग गरी सेयर कर्नरिङ गरेको देखिएको अदालतले उल्लेख गरेको छ।

तर, अदालतमा बयानका क्रममा गोल्छाले आफूविरुद्धका आरोप अस्वीकार गरेका थिए। उनले हिमालयन रि–इन्सुरेन्सको रकम व्यावसायिक प्रयोजनका लागि मात्र पठाइएको र त्यसबारे कार्यकारी तहलाई जानकारी रहेको दाबी गरेका थिए। व्यक्तिगत रकमका सम्बन्धमा पनि उनले सुलभ अग्रवालको विश्वासमा परेर बैंकिङ माध्यमबाट रकम पठाएको तर जोखिम महसुस भएपछि फिर्ता मागेको बताएका थिए।

गोल्छाले आफूले सेयर कर्नरिङ नगरेको र दीपक भट्टसँग कुनै मिलेमतो नभएको दाबी गरेका थिए। अदालतले प्राप्त प्रमाण र कागजातका आधारमा उनको संलग्नता देखिने आधार रहेको भन्दै तत्काल थुनामा राख्न आवश्यक नरहेको तर धरौटी माग्नुपर्ने ठहर गरेको हो।

अदालतले तोकिएको १ करोड रुपैयाँ धरौटी वा सो बराबरको बैंक जमानत बुझाउन नसके गोल्छालाई थुनामा पठाउनसमेत आदेश दिएको छ।