logo
२०८३ भाद्र ९, मंगलबार |
📰
🔍

दलको ह्विप उल्लङ्घन गरेको भन्दै अम्बिका काफ्लेलाई सांसदबाट हटाउन जसपा नेपाल लुम्बिनीको सिफारिस

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ भाद्र ९, मंगलबार
दलको ह्विप उल्लङ्घन गरेको भन्दै अम्बिका काफ्लेलाई सांसदबाट हटाउन जसपा नेपाल लुम्बिनीको सिफारिस

काठमाडौँ / जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)को लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदबाट हटाउन पार्टीको केन्द्रीय कार्यसमितिसमक्ष सिफारिस गरेको छ।

संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले सोमबार केन्द्रीय कार्यसमिति कार्यालयलाई पत्र पठाउँदै काफ्लेलाई दलबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट हटाउने कानुनी प्रक्रिया अघि बढाउन माग गरेका हुन्।

जसपा नेपालले नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई नयाँ राजनीतिक समीकरणसहित निरन्तरता दिने निर्णय गरेको थियो। त्यसअनुसार मुख्यमन्त्री आचार्यलाई समर्थन गर्दै भदौ १ गते प्रदेशसभामा प्रस्तुत विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरिएको थियो।

तर, काफ्ले दलको निर्देशनविपरीत विश्वासको मतसम्बन्धी बैठकमा जानाजानी अनुपस्थित भएको संसदीय दलको आरोप छ।

दलको निर्देशन उल्लङ्घन गरेको भन्दै भदौ २ गते काफ्लेसँग स्पष्टीकरण मागिएको थियो। तर, उनले जवाफ नदिएको पत्रमा उल्लेख छ। त्यसपछि भदौ ५ गते २४ घण्टे स्पष्टीकरणको अवसर दिइए पनि काफ्लेले चित्तबुझ्दो जवाफ नदिएको जसपा नेपाल लुम्बिनी संसदीय दलले जनाएको छ।