प्रभातफेरी अनलाइन१५ पटक पढिएको | ४५ मिनेट अघि
वीरगञ्ज / नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सक (पिजी) सँगको विवाद समाधानका लागि पटक–पटक वार्ता र संस्थागत पहल गरिए पनि सहमति हुन नसकेको भन्दै उनीहरूलाई कलेजबाट फिर्ता बोलाउन चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), त्रिभुवन विश्वविद्यालयसमक्ष अनुरोध गरेको जनाएको छ।
शुक्रबार जारी विज्ञप्तिमा कलेजले केही दिनदेखि जारी पिजी चिकित्सकहरूको आन्दोलनका कारण शैक्षिक तथा क्लिनिकल वातावरण प्रभावित भएको दाबी गरेको छ। शैक्षिक अनुशासन, संस्थागत विश्वास र स्वास्थ्य सेवा प्रभावित हुन नदिन आवासीय चिकित्सकलाई फिर्ता बोलाउन विश्वविद्यालयसमक्ष अनुरोध गरिएको कलेजले जनाएको छ।
कलेजका अनुसार सेप्टेम्बर १३ मा आवासीय चिकित्सकहरूले स्टाइपेन्ड तथा प्रोत्साहन भत्ता, शुक्रबार वा आइतबार बिदा लिँदा शनिबारको हाजिरी र २४ घण्टे ड्युटीपछि पोस्ट–ड्युटी विश्रामलगायत तीन विषय उठाएका थिए। कलेजले सम्बन्धित चिकित्सक तथा शैक्षिक पदाधिकारीसँग छलफल गरी ती विषय सम्बोधन गरिएको र आईओएमलाई समेत जानकारी गराइएको जनाएको छ।
तर त्यसपछि नयाँ माग तथा आपत्तिको औपचारिक लिखित विवरण नदिई पेन–डाउन तथा काम रोक्ने कार्यक्रम सुरु गरिएको कलेजको दाबी छ। आन्दोलनका क्रममा प्रारम्भिक मागबाहेक विचाराधीन कानुनी मुद्दा फिर्ता, स्त्री तथा प्रसूति विभागसँग सम्बन्धित अनुशासनात्मक विषय, आन्दोलन अवधिको तलब तथा हाजिरी र बायोमेट्रिक हाजिरीलगायत विषय उठाइएको कलेजले जनाएको छ।
विवाद समाधानका लागि कलेजले सेप्टेम्बर १८ मा वार्ताको आह्वान गरेको र सेप्टेम्बर २० मा लिखित समाधान प्रस्तावसमेत प्रस्तुत गरेको जनाएको छ। प्रस्तावमा स्त्री तथा प्रसूति विषयमा तीन सदस्यीय छानबिन समिति गठन, २४ घण्टे ड्युटीपछि विश्राम, स्टाइपेन्ड तथा हाजिरी र बिदासम्बन्धी विषय समाधान तथा आवश्यक विषयमा आईओएमको आधिकारिक राय लिने व्यवस्था समावेश गरिएको कलेजको भनाइ छ।
कलेजका अनुसार उक्त प्रस्तावमा आन्दोलनरत चिकित्सकहरूले हस्ताक्षर नगरेपछि नियमित शैक्षिक तथा क्लिनिकल जिम्मेवारीमा फर्कन औपचारिक सूचना र अन्तिम अवसर दिइएको थियो। तर चिकित्सकहरू नियमित जिम्मेवारीमा नफर्किएको कलेजको दाबी छ।
यस क्रममा ड्युटीमा रहेका चिकित्सक तथा संकाय सदस्यमाथि दबाब सिर्जना गरिएको, कार्यस्थलमा घेराउ गरिएको तथा विभागीय प्रमुख, पिजी कोअर्डिनेटर र संकाय सदस्यलाई समेत दबाबपूर्ण वातावरण सिर्जना गरिएको कलेजले जनाएको छ। यस्ता घटनाका सम्बन्धमा कलेज परिसरका सिसिटिभी तथा भिडियो अभिलेख रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
कलेजले विवादलाई एउटा विभाग वा प्रशासनसँगको असहमतिमा मात्र सीमित नभई समग्र शिक्षण, क्लिनिकल प्रशिक्षण र संस्थागत वातावरणसँग जोडिएको विषयका रूपमा व्याख्या गरेको छ। स्नातकोत्तर शिक्षा प्रभावकारी बनाउन शिक्षक–विद्यार्थीबीचको विश्वास, पेशागत अनुशासन, क्लिनिकल सुपरिवेक्षण र आपसी सहकार्य आवश्यक रहेको कलेजले जनाएको छ।
यसै पृष्ठभूमिमा विभिन्न चरणमा भएका वार्ता, लिखित प्रस्ताव र समाधानका प्रयासको मूल्याङ्कन गर्दै शैक्षिक सत्र २०८२ का सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकलाई नेशनल मेडिकल कलेजबाट फिर्ता बोलाइदिन त्रिभुवन विश्वविद्यालयसमक्ष अनुरोध गरिएको कलेज प्रशासन प्रमुख विश्वनाथ कंठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कलेजले यो निर्णय गुनासा उठाएको कारण गरिएको कारबाही नभई पटक–पटकको संवाद र समाधान प्रयासपछि शैक्षिक तथा संस्थागत वातावरण कमजोर बनेको अवस्थामा लिइएको निर्णय भएको स्पष्ट पारेको छ। साथै आवश्यक परे सम्बन्धित पत्राचार, वार्ता विवरण, लिखित प्रस्ताव, बैठकका माइन्युट तथा सिसिटिभी अभिलेख सम्बन्धित निकाय र सञ्चारमाध्यमलाई उपलब्ध गराउने जनाएको छ।
