प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ भाद्र ५, शुक्रबार
काठमााडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारी तथा पार्टीको आन्तरिक संगठन सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखिएको छ।
बैठकको प्रमुख कार्यसूचीमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने विषय रहेको छ। निर्वाचनमा उम्मेदवार चयन गर्दा अपनाइने विधि तथा प्रक्रियालाई बैठकमार्फत अन्तिम रूप दिने तयारी रास्वपाको छ।
यस्तै, पार्टीले स्थापनाकालदेखि उठाउँदै आएको ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई फिर्ता बोलाउन पाउने अधिकारसम्बन्धी दस्तावेज निर्माण गर्ने विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ। यसलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा राजनीतिक खाका तयार पार्ने योजना पार्टीको छ।
बैठकले पार्टीमा रिक्त रहेका तथा थप गर्नुपर्ने विभिन्न सांगठनिक पदमा मनोनयन गर्ने विषयमा पनि निर्णय गर्नेछ। जसअन्तर्गत केन्द्रीय समिति सदस्य तथा पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागीय प्रमुखको जिम्मेवारी बाँडफाँट गर्ने एजेन्डा रहेको छ।
त्यसैगरी, आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा सदस्य मनोनयन गर्ने विषय पनि बैठकको कार्यसूचीमा समावेश गरिएको छ।