प्रभातफेरी अनलाइन३२ पटक पढिएको | २०८३ भाद्र ५, शुक्रबार
काठमााडौँ / शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकारबीचको सहकार्य र समन्वयबाट मात्रै शिक्षा क्षेत्रमा प्रभावकारी सुधार सम्भव हुने बताएका छन्।
कैलालीको धनगढीमा आयोजित शिक्षा क्षेत्रका नीति, कार्यक्रम, बजेट तथा कार्यान्वयन प्रक्रियासम्बन्धी प्रदेशस्तरीय तीनदिने अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले प्रदेश र स्थानीय तहसँग सहकार्य नगरी शिक्षा क्षेत्रका काम प्रभावकारी रूपमा अघि बढाउन नसकिने बताए।
उनले शिक्षा नियमावलीको १०औँ संशोधन तथा अन्य ऐन–कानुनले गरेका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सबै तह मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। शिक्षा ऐन, नीति तथा कानुन निर्माण गर्दा सम्बन्धित सबै सरोकारवालासँग व्यापक संवाद आवश्यक रहेको बताउँदै उनले संवादबाटै समस्याको समाधान खोज्न सकिने विश्वास व्यक्त गरे।
कार्यक्रममा शिक्षा विभागका निर्देशक णप्रसाद न्यौपानेले शिक्षा क्षेत्रसँग सम्बन्धित नीति, कानुन, निर्देशिका, मापदण्ड तथा वार्षिक कार्यक्रम कार्यान्वयनमा प्रदेश, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइ (ईडीसीयू) बीच समान बुझाइ कायम गर्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको बताए।
कैलाली शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख जीवन न्यौपानेका अनुसार अभिमुखीकरणमा आर्थिक वर्ष २०८३/८४ का प्रदेश, ईडीसीयू र स्थानीय तहका शिक्षा कार्यक्रमबारे छलफल तथा प्रशिक्षण हुनेछ। कार्यक्रममा शिक्षा नीति, कार्यक्रम तथा बजेट, ‘सेक्टर वाइड एप्रोच’ अन्तर्गतका व्यवस्था, कार्यक्रमसँग सम्बन्धित सूचक तथा बजेट निकासाबारे जानकारी दिइनेछ।
यस्तै, स्थानीय शिक्षा योजनाका आधारमा वार्षिक रणनीतिक कार्यान्वयन योजना, वार्षिक कार्ययोजना तथा बजेट निर्माण गर्ने विषयमा समेत प्रशिक्षण दिइनेछ। यसबाट स्थानीय तहले स्वीकृत शिक्षा योजनालाई वार्षिक कार्यक्रम तथा बजेटसँग जोड्न सहज हुने अपेक्षा गरिएको छ।
अभिमुखीकरणमा विद्यालय शिक्षा क्षेत्रको सूचना व्यवस्थापन प्रणालीको प्रयोग तथा त्यसबाट प्राप्त तथ्यांकको उपयोग, शिक्षा क्षेत्रका विभिन्न मापदण्ड र नीतिबारे समेत छलफल गरिनेछ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ।