logo
२०८३ आश्विन २, शुक्रबार |
📰
🔍

टुक्का कविताको छैटौँ वार्षिकोत्सव तथा चार टुक्का कवितासङ्ग्रह लोकार्पण

प्रभातफेरी अनलाइन४२ पटक पढिएको | २०८३ भाद्र २५, बिहिबार
टुक्का कविताको छैटौँ वार्षिकोत्सव तथा चार टुक्का कवितासङ्ग्रह लोकार्पण

काठमाडौं / नेपाली साहित्यमा लघुत्तम कविताको नयाँ आयामका रूपमा स्थापित हुँदै गएको टुक्का कविताले आफ्नो सिर्जनात्मक यात्राको छैटौँ वसन्त पूरा गरेको छ । यही अवसरमा २०८३ भदौ २० गते (५ सेप्टेम्बर २०२६), शनिबार टुक्का कविताको छैटौँ वार्षिकोत्सव तथा चारवटा टुक्का कवितासङ्ग्रह लोकार्पण समारोह सम्पन्न भयो। संस्थाका अध्यक्ष तथा टुक्का कविताका परिकल्पनाकार ताराप्रसाद चापागाईंको सभापतित्वमा सम्पन्न उक्त समारोहमा साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रारम्भ केही दिनअघि आएको विनाशकारी बाढीका कारण अकालमै ज्यान गुमाउने सम्पूर्ण नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारणबाट गरिएको थियो । त्यसपछि प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो । स्वागत मन्तव्यका क्रममा शोभा गौतमले उपस्थित अतिथि, स्रष्टा तथा साहित्यप्रेमीहरूलाई स्वागत गर्नुभएको थियो भने सभापति ताराप्रसाद चापागाईंले टुक्का कविताको विकासक्रम, यसको मौलिक विशेषता तथा संस्थाले अघि सारेका साहित्यिक उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।

समारोहमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको बाहुलीबाट दिलीपकुमार शर्मा कट्टेलको ‘टुक्काञ्जली’, इन्दु श्रेष्ठको ‘टुक्का प्रवाह’, कोपिला अधिकारीको ‘टुक्का तरङ्ग’ र चूडामणि देवकोटाको ‘टुक्का पल्लव’ लोकार्पण गरिएका थिए । एउटै मञ्चबाट चार नयाँ कृतिको लोकार्पण हुनुले टुक्का कविता सिर्जनाको निरन्तर विस्तार र यसप्रतिको स्रष्टाहरूको आकर्षणलाई समेत प्रतिबिम्बित गरेको थियो।

लोकार्पित कृतिहरूमाथि धारणा राख्दै आशुकवि रेणुका भट्टराई ‘मञ्जरी’ ले चूडामणि देवकोटाको ‘टुक्का पल्लव’ र कोपिला अधिकारीको ‘टुक्का तरङ्ग’ मा समसामयिक विषयवस्तु, सामाजिक चेतना तथा आशावादी स्वर सशक्त रूपमा अभिव्यक्त भएको बताउनुभयो। उहाँका अनुसार यी कृतिले छोटो संरचनाभित्र गहन भाव, विचार र सामाजिक सरोकारलाई अभिव्यक्त गर्ने टुक्का कविताको सामर्थ्यलाई उजागर गरेका छन् ।

विशिष्ट अतिथि प्रा. डा. देवी नेपालले लघुत्तम कविताले पाठकलाई विद्युतीय झट्कासरह तत्काल प्रभाव पार्न सक्ने क्षमता राख्ने उल्लेख गर्दै टुक्का कविताको संक्षिप्त संरचनाभित्र प्रभावशाली भाव सम्प्रेषण हुने बताउनुभयो । नेपाली भाषा साहित्यमा प्रयोग भएका टुक्का कविता लगायतका विभिन्न प्रयोगहरू बिश्वभर फैलिएर स्थापित हुनसक्ने सम्भावना रहेको भन्दै यस्ता प्रयोगहरूले समाज रुपान्तरणमा सहयोग पुग्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले इन्दु श्रेष्ठको ‘टुक्का प्रवाह’ र दिलीपकुमार शर्मा कट्टेलको ‘टुक्काञ्जली’ का टुक्काहरूमा भावगाम्भीर्य, नैतिक मूल्य, प्रकृतिचेतना तथा व्यङ्ग्यचेतना प्रभावकारी रूपमा प्रस्तुत भएको चर्चा गर्नुभयो । कलानिधि दाहालले पनि आफ्ना मन्तव्यका क्रममा चारै जना स्रष्टालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। कृतिकारहरूका तर्फबाट चूडामणि देवकोटा र कोपिला अधिकारीले आफ्ना भनाइ राख्दै कृति प्रकाशन तथा लोकार्पणका अवसरमा सहयोग, सद्भाव र उपस्थितिका लागि आयोजक तथा सम्पूर्ण साहित्यप्रेमीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

समारोहमा टुक्का साहित्यको विकास र विस्तारमा योगदान पुर्‍याउने स्रष्टाहरूको सम्मानसमेत गरिएको थियो । साहित्यिक कर्मको उच्च मूल्याङ्कन गर्दै आयोजक संस्थाका तर्फबाट चारै जना कृतिकारलाई ‘टुक्का साहित्य समृद्धि सम्मान’ समर्पण गरिएको थियो । साथै, टुक्का साहित्यको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएका सम्पादक तथा साहित्यकार वसन्तराज अज्ञातलाई पनि सोही सम्मान समर्पण गरिएको थियो । प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपालले सम्मानित स्रष्टाहरूलाई सम्मान प्रदान गर्नुभएको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपालले दुई हरफमा संरचित यो लघुत्तम काव्यिक उपविधाले नेपाली लोककाव्यधाराको मौलिकतालाई जीवन्त राख्दै नयाँ प्रयोगका क्षेत्रमा सफलता हासिल गरेको बताउनुभयो । छोटो समयमै हजारौँ स्रष्टा यस विधासँग जोडिनु र २९ वटा कृति प्रकाशन हुनु टुक्का कविता विधाको उल्लेखनीय उपलब्धि भएको उहाँले बताउनुभयो । उहाँले टुक्का कविताको परिकल्पनाकार ताराप्रसाद चापागाईंले यस विधाको विकास, विस्तार र प्रवर्द्धनका लागि पुर्‍याउनुभएको सक्रिय योगदानको उच्च प्रशंसा गर्दै यसको सम्भावना अझ व्यापक रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा साहित्यकारहरू प्रमोद नेपाल, निबन्ध आचार्य, कृष्णकुमार वैद्य, कृष्णबहादुर बजगाईं, दीपा गुरुङ ‘समभाव’, रबिता महर्जन, नेत्रबहादुर श्रेष्ठ, कल्पना भण्डारी ‘मुस्कान’, युवराज कट्टेल ‘चट्टान’, देवकी आचार्य, सुशीला थापा, अमर अधिकारी, नारायण लम्साल, उमा गौतम, पुष्पा दाहाल, राजु तामाङ, पवनकुमार बुढाथोकी, त्रिचन्द्र श्रेष्ठ, सानुराजा अञ्जान, लता गुरुङ, महेश धिताललगायत छ दर्जनभन्दा बढी स्रष्टाको सहभागिता रहेको थियो । साहित्यिक स्रष्टाहरूको उल्लेख्य उपस्थितिले समारोहलाई थप गरिमामय बनाएको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका महासचिव चूडा निर्भिकले कुशलतापूर्वक गर्नुभएको थियो । संस्थाकी सचिव जुमना आचार्यले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, स्रष्टा, साहित्यप्रेमी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो । अन्त्यमा संस्थाका अध्यक्ष तथा टुक्का कविताका परिकल्पनाकार ताराप्रसाद चापागाईंले समारोहमा उपस्थित सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै टुक्का कविताको सिर्जना, विकास र विस्तारको यात्रामा सबैको निरन्तर साथ र सहकार्यको अपेक्षा राख्दै कार्यक्रमको समापन गर्नुभयो ।