logo
२०८३ भाद्र २७, शनिबार |
📰
🔍

भोटेकोशी बाढी पछिको पुनरुत्थान: त्रिशूली बजारमा सरसफाइ र उद्धार अभियानको तयारी

प्रभातफेरी अनलाइन५ पटक पढिएको | २०८३ भाद्र २७, शनिबार
Post Thumbnail

अनुज कुमार श्रेष्ठ

​प्रकृतिको अकल्पनीय र विनाशकारी रूपले नेपालका विभिन्न भागमा पुर्‍याएको क्षति अझै आलै छ। भोटेकोशी नदीमा आएको बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाउँदा प्रभावित क्षेत्रहरूमा अहिले उद्धार, खोजी र पुनरुत्थानका कामहरू तीव्र पारिएका छन्। यसैक्रममा, बाढीले निम्त्याएको भग्नावशेष पन्छाउन र ऐतिहासिक त्रिशूली बजारलाई पूर्ववत् अवस्थामा फर्काउन स्थानीय सरकार र अन्तर्राष्ट्रिय मानवीय संस्थाहरू संयुक्त रूपमा मैदानमा उत्रिएका छन्।
​लायन्स इन्टरनेशनलको समन्वय र खाल्सा एड इन्टरनेशनल (Khalsa Aid International) को विशेष सहयोगमा त्रिशूली बजारमा उद्धार तथा सरसफाइ अभियान सञ्चालन हुने भएको छ। यस महत्त्वपूर्ण कार्यका लागि विदुर नगरपालिकाले आधिकारिक रूपमा अनुमति प्रदान गरिसकेको छ।
​स्थानीय नेतृत्व र समन्वयात्मक सहभागिता यस अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन स्पष्ट कार्यविभाजन गरिएको छ। विदुर नगरपालिकाको नेतृत्व र प्रत्यक्ष जिम्मेवारीमा रहने यो अभियानमा नेपाल प्रहरीसँगको समन्वयमा घरभित्र पुरिएका सामग्री तथा दुर्भाग्यवश बाढीमा परेर ज्यान गुमाएकाहरूको मृत शरीरहरू निकाल्ने संवेदनशील काम समेत अगाडि बढाइनेछ। मानवीय संवेदना र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यो कार्य सम्पादन गरिनेछ।
​भर्खरै खाल्सा एड इन्टरनेशनल र लायन्स क्लबका प्रतिनिधिहरूले त्रिशूली बजारको स्थलगत निरीक्षण गरी लेदोले पुतिएका बस्तीहरूको प्रत्यक्ष अवस्था बुझेका छन्। र प्रभावितहरुसंग प्रत्यक्ष रुपमा भेटेर स्थानीय आवश्यकता र यथार्थ अवस्थालाई मध्यनजर गर्दै कार्यप्रारम्भ गर्ने ठोस योजनासमेत तयार भइसकेको छ। सबै तयारी पूरा भएसँगै आगामी शुक्रबारदेखि औपचारिक रूपमा सरसफाइ तथा उद्धारको काम सुरु हुने भएको छ।
​खाल्सा एड इन्टरनेशनलको प्राविधिक तथा सामग्रीहरु सहयोग
विनाशकारी बाढीले त्रिशूली बजारमा थुपारेको गेग्रान, बालुवा र भग्नावशेष पन्छाउन खाल्सा एड इन्टरनेशनलले ठूलो परिमाणमा मेसिनरी औजार तथा सुरक्षा सामग्रीहरू उपलब्ध गराउने भएको छ। संस्थाको सहयोगमा स्काइभेटर, जेसिबी र ट्रिपरहरू परिचालन गरिनेछन् भने सरसफाइमा खटिने स्वयंसेवकहरूका लागि गमबुट, पन्जा, साबेल, पिग लगायत आवश्यक सुरक्षा सामग्रीहरू जुटाइएको छ।
​सुरुवातमा यो अभियान ५ दिनसम्म सञ्चालन हुनेछ। पहिलो ५ दिनको कामको उपलब्धि र त्यसबाट आउने नतिजाको समीक्षा गरेर आगामी दिनमा समयावधि थप गर्ने बारे निर्णय लिइने खाल्सा एडका प्रतिनिधिले जानकारी दिएका छन्।
​स्थानीय जनसमुदाय र लायन्स क्लबको सक्रियता
विपदको यस घडीमा त्रिशूली बजारलाई पुनर्जीवन दिन स्थानीय स्तरबाट पनि उच्च स्तरको एकता र सक्रियता देखिएको छ। यस बृहत् सरसफाइ तथा पुनर्निर्माण अभियानमा लायन्स क्लबका सदस्यहरू र स्थानीय महानुभावहरूले अग्रपंक्तिमा रहेर श्रमदान तथा सहकार्य गर्नेछन्।
​एकातर्फ मानवीय पीडा र अपूरणीय क्षति छ भने अर्कातर्फ समाजलाई फेरि उभ्याउन स्वदेशी तथा विदेशी संस्था र स्थानीय बासिन्दाहरूको यो सहकार्यले ठूलो आसा जगाएको छ। शुक्रबारबाट सुरु हुने यो सामूहिक प्रयासले त्रिशूली बजारलाई छिट्टै आफ्नो पुरानो लयमा फर्काउने विश्वास लिइएको छ।

श्रेष्ठ Lins international Distrct325,I Nepal का सेक्रेटरी हुनुहुन्छ